Logout

चर्चामा

सरकारले सवारी सहज नबनाउँदा राष्ट्रपतिले गाली खानुपर्‍यो : रघुजी पन्त

1.5k Shares

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले विशिष्ट व्यक्तिको सवारीहरुलाई सहज र जनतालाई अप्ठेरो नपर्ने गरी व्यवस्था गर्न माग गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदमा आउँदा भएको सवारी जामको विषयले सरकार, संसद र राष्ट्रपतिप्रति पनि नकारात्मक टिप्पणी भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रपतिको सवारीका क्रममा आफू एक घण्टा जाममा परेको र एम्बुलेन्स पनि जाममा परेको देखेको पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एम्बुलेन्समा कस्तो विरामी थिए भन्ने मैले देख्न पाइनँ, थुप्रै मान्छे आक्रोशित थिए, सांसदहरुलाई पनि गाली गर्दै थिए, मैले लोगो छोप्नु पर्‍यो, मास्क लगाउनुपर्‍यो ।’

आफ्नो सवारी कसरी चलाउने भन्ने विषय राष्ट्रपतिको हातमा नहुने तर उहाँहरुले आलोचना खेप्नुपर्ने बाध्यता रहेको नेता पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसैले यो प्रश्नको समाधान राजनीतिक नेतृत्व र  प्रधानमन्त्रीको तहबाट हुनुपर्छ।’

विशिष्ट व्यक्तिको सवारी चलाउने मापदण्ड लोकतन्त्रमा खुकुलो र सुरक्षाको दृष्टिले पनि उपयुक्त हुनुपर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तर सुरक्षा निकायले जहिले आफू सुरक्षित हुने बाटो खोज्ने र केही भएमा कसले जिम्मा लिने भन्ने प्रश्न गरेर उम्किन्छन् । लोकतन्त्रमा लोकको यो आवाजप्रति हाम्रो संयन्त्र संवेदनशील हुन सकेन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार