नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताएका हुन् ।
उनले कहीँ पनि प्रदेश बिनाको शासन नभएको भन्दै संघीयतामा झनै प्रदेश आवश्यक रहेको बताए । उनले भने – ‘आज फेरि अर्को बहस के गर्न खोजिदैछ भने दुई तह भए पुग्छ प्रदेश चाहिँदैन भन्ने प्रकारको बहस चलाउन खोजिएको छ । कतै तपाईहरुलाई पनि यो त राम्रै हो कि जस्तो लागेको पनि हुनसक्छ । म तपाईहरुलाई के भन्छु भने कुन त्यस्तो मुलुक छ जहाँ राज्य र प्रदेश नभइकन शासन भएको छ ? एकात्मक मुलुकमा जानुहोस् । प्रदेश बिनाको, राज्य बिनाको एकात्मक मुलुक छ ? के चीनमा राज्य छैन ? ब्रिटेनमा राज्य छैन ? जुन एकात्मक राज्य हुन् । जहाँ संघीयता छैन । त्यहाँ पनि राज्य छन् त । प्रदेशहरू छन् त । संघीयताका मुलुकहरूमा त झन् प्रदेश अनिवार्य छन् ।’
‘यो प्रदेश नभए पनि हुन्छ भन्ने प्रकारको मान्यता कस्तो प्रकारको दिमागी उपज हो ? के हामीले बनाएको संविधान गलत छ भन्ने कुरा स्थापित गर्नका लागि खेलेको खेती त होइन ? हामीले जुन प्रकारको तहगत संरचना गरेका छौँ, त्यो संघीयताको विशिष्ट मोडेल हो । हरेक प्रकारका शासन प्रणालीमा तीन तहको ढाँचा हुन्छ । चाहे संघीयता होस् । चाहे एकात्मकता होस् । सबै ठाउँमा तीन तह हुन्छ भन्ने कुरालाई नबुझीकन कहिले के कुराको बहस गरेको छ, कहिले के कुराको बहस गरेको छ, कहिले संघीयतामा प्रदेश र संघ भए पुग्छ भनेको छ,’ उनले थपे, ‘कहिले संघ र स्थानीय सरकार भए पुग्छ प्रदेश चाहिँदैन भनेको छ । यो सबै कुरा के हो त भन्दा खेरी हाम्रो नेपाललाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती हो भन्ने कुरालाई बुझ्नु जरुरी छ । आज हामी नेपालको राजनीतिभित्र नेपालका राजनीतिक दलहरूका कमी, कमजोरीले मात्रै समस्या पैदा भएको छैनन् । विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाइन खोजिँदैछ नेपाललाई ।’
उनले प्रशासनिक नेतृत्व परम्परावादी भएको बताउनु भयो । काठमाडौँ केन्द्रित प्रशासनिक मानसिकता नै संघीयता कार्यान्वयनको समस्या भएको उहाँको भनाई छ । उनले भने, ‘मूलतः नेपालको प्रशासनिक नेतृत्व सबभन्दा ज्यादा कन्जर्भेटिभ भयो भन्ने लाग्छ । हामी राजनीतिक नेतृत्वको सन्दर्भका बारेमा धेरै बहस गर्ने गर्छौँ । प्रशासनिक नेतृत्व नै संघीयतालाई संविधानको भाषामा संघीयता कार्यान्वयन गर्न मानसिक रूपमा तयार नै नभएका कारणले आज यो समस्या पैदा भएको हो । खास गरी काठमाडौँ केन्द्रित प्रशासनिक मानसिकता संघीयताको कार्यान्वयनको सबभन्दा ठुलो समस्या हो भन्ने कुरालाई बुझ्यौ भने स्वाभाविक रूपमा त्यो सिंहदरबार केन्द्रित भनौँ अथवा जे भन्नुहुन्छ, त्यो मानसिकतालाई बदल्न सकियो भने मात्रै हाम्रो संविधान पर्फेक्ट रूपमा लागू हुनसक्छ भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’
महासचिव पोखरेलले सहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता निम्तिन लागेको बताउनु भयो । उनले हरेक चुनावमा नयाँ नयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने जिकिर गरे । उनले भने – ‘आज अस्थिरता कसका माध्यमबाट भइरहेको छ भन्दा खेरी सहरिया मध्यम वर्ग सबभन्दा ज्यादा असन्तुष्ट भइराखेको छ, नेपालको राजनीतिक प्रणालीप्रति । त्यो कसको मातहतमा छ भन्दा खेरी तपाईहरु नेतृत्वको मातहतमा छ । तपाईहरुले उनीहरूलाई सन्तुष्ट गर्न सक्नुभयो राजनीतिक स्थिरतातर्फ हामी मुलुकलाई लैजान सक्छौँ । तपाईले आफ्नो ठाउँको जनतालाई सन्तुष्ट पार्न सक्नुभएन भने मुलुक अस्थिरताको भुमरीमा फस्छ । नेपाल प्रयोगशालाको क्रीडास्थल बन्छ । आज हामी जुन प्रकारको अस्थिरताबाट गुज्रँदै छौँ । त्यसले भीषण सांस्कृतिक विचलन पैदा गरेको छ । सहरिया मध्यम वर्गमा सांस्कृतिक अतिवादतर्फ एउटा । अर्को सांस्कृतिक स्वच्छन्दतातर्फ अर्को जमात तयार हुँदैछ । दुवै चिजहरू समाजको स्थायित्व, शान्ति र विकासका लागि साधक होइन । आज सहरिया मध्यम वर्गभित्र जुन प्रकारको विचलन देखा परेको छ । त्यो परिवर्तन होइन । विचलन हो । यो भन्ने आँट गर्दैनौँ भने हामी समाजलाई नेतृत्व गर्न सक्दैनौँ । हरेक वर्ष नयाँ नयाँ प्रयोग गरेर राष्ट्र बन्न सक्छ ? काठमाडौँ उपत्यकामा एकपल्ट विवेकशील साझाको रूपमा एउटा प्रयोग गरियो । आज अर्को प्रयोग हुँदैछ । फेरी अर्को चुनाव आउँछ फेरि अर्को प्रयोगको नाममा स्थायित्वलाई खलबल्याउने खालको काम हुन्छ । के यो जायज हो ? राजनीतिज्ञहरूले बहस गर्न सक्नुपर्छ । जनताको निराशा र असन्तुष्टि गलत बाटोतर्फ गयो भने राष्ट्रले दुःख पाउँछ ।’