Logout

चर्चामा

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो चुनावी मतपरिणामको प्रतिवेदन

346 Shares

काठमाडाैं । निर्वाचन आयाेगले मंसिर ४ गते सम्पन्न चुनावकाे अन्तिम मतपरिणामसहितकाे प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेकाे छ ।

आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा विजयी हुने सांसद्को विवरणसहितकाे मतपरिणाम प्रतिवेदन बिहीबार राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको हाे । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बिहीबार राष्ट्रपति भण्डारीलाई प्रतिनिधि सभा चुनावकाे मतपरिणामसहितकाे प्रतिवेदन बुझाउनुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

'सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम 'प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणाम सहितको प्रतिवेदन' पेस गर्नुभयो' - विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयोगका अधिकारीहरू राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएकाे थियाे । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १ सय ६५ र समानुपातिकतर्फ निर्वाचित १ सय १० गरी कुल २ सय७५ सदस्यको विवरण पेस गरिएको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधि सभातर्फकाे अन्तिम मतपरिणामसहितकाे प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिले भण्डारीले अब प्रतिनिधि सभाको बैठक आह्वान गर्नुहुनेछ । याेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । 

प्रदेश तर्फको अन्तिम मत परिणाम भने पुस २ गते प्रदेश प्रमुखहरुलाई बुझाइने आयाेगले जनाएकाे छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

आयाेगले सार्वजनिक गरेकाे मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० गरी ८ सय २५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १ सय ८४ जना अर्थात् ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । 

प्रदेश सभातर्फ पुरुष ३ सय ५० जना अर्थात् ६३ दशमलव ६४ प्रतिशत र महिला २ सय जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् । 

संघीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । सात प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार