निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिमा दिएको अडियो भिडियो बयानको उतार पुनः पढेर सुनाएपछिमात्रै हस्ताक्षर गर्ने बताएपछि सोही अनुसार हस्ताक्षरको क्रम चलिरहेको छ ।
सिफारिस समितिमा जबराले भदौ १५ देखि २८ गतेसम्म दिएको बयानलाई समितिले उतारेको थियो । सोही उतार (भर्बेटम) पत्रमा राणाले हस्ताक्षर गरेका हुन् । बिहान नौ बजेदेखि बसेको समितिको बैठकमा कागजमा उतारिएको बयान आफूले सुनेरमात्रै हस्ताक्षर गर्ने अडान राखेपछि प्रत्येक पेज पढ्दै सुनाएपछि मात्रै हस्ताक्षर गर्दा ढिलाइ भएको हो ।
कांग्रेस सांसद मीन विश्वकर्माले झण्डैझण्डै १ सय ७४ पेजको उतार बयान (डकुमेन्ट) भएकोले सबै कुरा सुनाएर हस्ताक्षर गर्दा ढिलाइ हुन पुगेको बताए । संसद्को कार्यकाल भोलि असोज १ गते राति १२ बजेसम्म रहने भएकाले महाभियोग टुंग्याउन समितिलाई समय कम छ । तर समितिले समयभित्रै प्रतिवेदन बनाएर संसदमा पेश गर्ने जनाउँदै आएको छ । भोलि संसद्को अन्तिम बैठक राखेर चोलेन्द्रमाथिको महाभियोग टुंगोमा पुर्याउने संसद् सचिवालयको तयारी छ ।