काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश युवाले नै बनाउने बताउनुभएको छ । शुक्रबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बनाउने मान्छे मै हो भनेर आफूबाट सुरु गर्नुपर्ने बताउनुभयो ।
‘देश बनाउने युवाले हो, देश बनाउने आत्मविश्वासले, देश बनाउनु उद्यमशीलताले हो’, ओलीले भन्नुभयो । विगतमा लडेर रक्षा गरिएको देश आज अडिए पुग्ने उहाँले बताउनुभयो । ओलीले नेपाल बनाउन र जोगाउन अब लड्नु नपर्ने प्रष्ट पार्नुभयो । देश जोगाउन र बनाउन अब स्पष्ट अडान राखेर अडिए पुग्ने उहाँले बताउनुभयो ।
हरेक देशले लडेर राष्ट्रियता रक्षा गरेको छ, आज हामीले लडेर रक्षा गर्नु पर्दैन, हाम्रा राष्ट्रिय हितहरूमा, अडानहरूमा हामी अडिए पुग्छ, नेपाल नेपालीले चलाउने हो, अरूले होइन, नेपाल नेपालीले बनाउने हो अरूले होइन’ ओलीले भन्नुभयो । देश बनाउनको लागि आत्मविश्वासका साथ अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो ।
यसको लागि नेतृत्व विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । विद्वान पुर्खाको रगत बगेको नेपालीले आफ्नो देश आफै बनाउन सक्ने उहाँले बताउनुभयो । विद्वान, खोजा, अनुसन्धाताको पुर्खाहरूको देश नेपाल भएको उहाँले प्रष्ट पार्नुभयो । भौगोलिक हिसाबले पनि नेपाल जीवनमय भएको उहाँले प्रष्ट पार्नुभयो ।
नेपालको हरेक ठाउँमा जीव र बोट बिरुवा उत्पत्ति हुने उहाँले बताउनुभयो । उहाँले हरेक नागरिकमा देश भक्तिको भावना हुनुपर्ने बताउनुभयो । देश भक्ति भनेको देशेको विकास र समृद्धिमा लाग्नु पर्नेमा उहाँले प्रष्ट पार्नुभयो ।