काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएकाे छ । एमाले अध्यक्ष ओली र मिश्रबीच आइतबार साँझ बालकाेटमा भेटवार्ता भएकाे हाे ।
आफूहरूबीच अढाइ घण्टा छलफल भएको मिश्रले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएकाे छ । आगामी चुनाव, देशको राजनीति, भूराजनीति, विदेशी चासो, राजसंस्थाको आवश्यकता र असान्दर्भिक तालगायत विषयमा आफूहरुबीच छलफल भएको मिश्रले उल्लेख गर्नुभएकाे छ ।
एमाले अध्यक्ष ओलीले आफूलाई महत्वपूर्ण सुझाव दिएकाे पनि मिश्रले उल्लेख गर्नुभएकाे छ । 'सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केट बलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ, नआत्तिनु होला'-ओलीकाे भनाइ उदृद गर्दै मिश्रले उल्लेख गर्नुभएकाे छ ।
भेटको अन्त्यमा ओलीले आफूलाई एक मुठी सिक्का उपहार दिनुभएकाे पनि मिश्रले उल्लेख गर्नुभएकाे छ । 'चुच्चे नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठी सिक्का अर्को कोठाबाट ल्याएर उपहार दिनुभयो, भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ'-मिश्रले लेख्नुभएकाे छ ।
