रामपुर । पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नं. १ का पूर्व सांसद भद्र बहादुर थापाको आज शनिबार बिहान आफ्नै निवास रामपुर १० बर्दलेमा निधन भएको छ ।
आफ्ना पिताको क्रिया गरेर पिण्ड दिँदै गर्दा क्रियाकर्म सम्पन्न नहुँदै उहाँको बिहान ९ बजेतिर निधन भएको स्थानीय काँग्रेस नेता विजय रानाले जानकारी दिनुभयो ।
उहाँको पिता ६२ वर्ष अगाडिदेखि बेपत्ता भएकोमा अब जीवितै नरहेको निष्कर्षका साथ उहाँले १२ दिन अगाडिदेखि पिताको क्रियाकर्म गर्नु भएको थियो । विक्रम सम्बत २००५ सालमा जन्मिनु भएका पूर्व सांसद थापा तत्कालीन गेझा गा वि सको पहिलो अध्यक्ष हुनु भएको थियो । नेकपा एमालेबाट निर्वाचित उहाँले विक्रम सम्बत २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षको रुपमा सेवा गर्नु भएको थियो ।
त्यसैगरी २०५४ देखि २०५६ सम्म उहाँ पाल्पा जिल्लाको जिल्ला विकास समिति (जिविस) उपसभापति बन्नु भएको थियो । उपसभापति भएकै बेला राजीनामा दिएर उहाँले २०५६ सालमा संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्नु भएको थियो । उहाँले काँग्रेसका तत्कालीन चर्चित युवा नेता विजयराज घिमिरेलाई पछाडि पारेर निर्वाचित हुनुभएको थियो । त्यति बेला वर्तमान सांसद दलबहादुर राना भने नेकपा मालेबाट उम्मेदवार बनेर तेस्रो हुनुभएको थियो ।
पूर्ण कालिन राजनीतिमा आउनु अघि उहाँले स्थानीय भानुभक्त माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो । विद्यालय तहमा उहाँका विद्यार्थी समेत रहनु भएका स्थानीय रामचन्द्र भण्डारीले उहाँलाई नाम जस्तै भद्र र शालीन स्वभावका थापालाई असल र इमानदार राजनीतिज्ञ र नैतिकवान् गुरुका रुपमा स्मरण गर्नुहुन्छ ।
थापाको निधनको खबर थाहा पाएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, “पूर्व सांसद मेरा आदरणीय गुरु नैतिकता र इमन्दारीतामा प्रतिबद्ध एक निष्ठावान् व्यक्तित्व भद्र थापा सरको आज देहान्त भयो भन्ने खबर सुन्दा सारै दुःख लागेको छ ।
सरको आत्माको चिर शान्तिको कामना गर्दछु । साथै शोक सन्तप्त परिवारजनप्रति यो दुखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछु ।” श्रीमती, छोरा र छोरी रहेका थापाको आजै स्थानीय आँधी घाटमा अन्त्येष्टि गर्न लागिएको स्थानीय काँग्रेस नेता विजय रानाले जानकारी दिनुभयो ।