Logout

चर्चामा

गठबन्धनलाई धुलो चटाउदै मोलुङमा एमाले विजयी

985 Shares

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुनुभएको छ। कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित हुनुभयो । एमालेका राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाउनुभयो । विजयी राईको मतान्तर ५९० छ।

२०७४ को निर्वाचनमा एमालेले २६ मतले अध्यक्ष पद जितेको थियो। उपाध्यक्षमा खतिवडाले प्रतिस्पर्धीलाई दोब्बर बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष विजयी हुनुभएको छ । खतिवडाले ४ हजार २ सय ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका कुलबहादुर खत्रीले २ हजार ९६ मत पाउनुभयो । खतिवडाले दोब्बर बढी २१०४ मतले जित्न सफल हुनुभयो । जिल्लामा सबैभन्दा धेरै मतान्तरमा विजयी हुने खतिवडा पहिलो जनप्रतिनिधि बन्नुभयो । मोलुङका वडामा पनि एमालेको बहुमत छ।

८ मध्ये ५ वडा एमाले र ३ नेपाली कांग्रेसले जितेको छ। एमालेबाट वडानम्बर १ मा कमल बानीया, ३ मा मित्रबहादुर सुनुवार, ६ मा कमल तामाङ, ७ मा हेमबहादुर सुनुवार र ८ मा सुधिर राई विजयी हुनुभएको छ । कांग्रेसबाट वडानम्बर २ मा टंक कार्की, ४ मा भोलाराज राई र ५ मा गोपी कार्की विजयी हुनुभएको ।

माओवादी केन्द्रका सबै वडा अध्यक्ष र गठबन्धनको उपाध्यक्ष पराजित हुँदा मोलुङमा माओवादी क्लीन स्वीप भएको छ। एमाले हराउन कांग्रेसले उपाध्यक्षको उम्मेदवार टंकमाया बुढाथोकीको उम्मेदवारी फिर्ता लिएर माओवादीसँग तालमेल गरेको थियो। गठबन्धन भित्र तालमेल नमिल्दा मोलुङमा कांग्रेस र माओवादीका उम्मेदवारले अपेक्षित भोट ल्याउन सकेनन्। अघिल्लो निर्वाचनमा एक्लै चुनाव लड्दा पनि कांग्रेसले उपाध्यक्ष र ४ वडाअध्यक्ष जितेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार