किभ । रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् ।
युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नचाहेको बताएका छन् ।
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति पुटिनलाई एउटा ‘रिसाहा’ एकलकाटे नेताको उपमा दिँदै युक्रेन अतिक्रमण उनको योजनाअनुसार नबढेको टिप्पणी गरेका छन् ।
पुटिनले पश्चिमा देशहरुलाई उत्तेजक आणविक धम्की दिएकोसमेत उनीहरुले आलोचना गरेका छन । यसैबीच, युक्रेनमाथि रुसी हमलासँगै अमेरिकालगायतका पश्चिमा देशहरुको प्रतिबन्धपछि मस्कोमा उर्जा संकट देखिने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमा तेल, ग्यास र कोइला आयातमा प्रतिबन्ध लगाएपछि मस्को प्रभावित हुने भएको हो ।युक्रेनमा पुटिनले कहिल्यै जित गर्न नसक्ने बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा प्रतिबन्ध लगाएका थिए ।
त्यस्तै बेलायतले पनि यसै वर्षको अन्त्यसम्म रुसी तेल आयतमा प्रतिबन्ध लगाउने जनाएको छ ।