Logout

चर्चामा

सुवास नेम्वाङले भने : वर्तमान सरकारले नेपालको चुच्चे नक्सा गायब गर्‍यो

737 Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन्।

नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही नेताहरूले स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाए। प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरूले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए।

‘केही साथीहरू निर्वाचन भनेपछि किन डराउँछन्? प्रतिगमन भन्छन्। जनतामा जाने भनेको डराउँछन्। भरसक जनतामा जाने मिति पर सार्छन्। यहाँहरूलाई थाहा छ त्यसैले म दोहोर्‍याउन चाहन्न। बल्लबल्ल तपाईँ- हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं।

तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ,’ नेम्वाङले भने, ‘तपाईंहरूलाई आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु- किन केही साथीहरू जनतामा जान डराउँछन्?’ नेम्वाङले देशको राष्ट्रियताको सन्दर्भमा लडाइँ लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चेनक्सा एमालेले बनाएको बताए। ‘यो कम ठूलो कुरा थियो? कम्ती चुनौती थियो यसमा? एउटै कुराबाट थाहा हुन्छ- यो पछिल्लो सरकारले हामीले त्यतिबेला सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा हामीले चुच्चे नक्सा छापेका थियौं।

तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस् त? त्यहाँ नेपालको लोगो छ। तर लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा गायब छ,’ उनले भने। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैंले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गरे।

नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायब बनाएको आरोप उनले लगाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार