Logout

चर्चामा

गठबन्धन लामो समयसम्म टिक्दैनः एमाले नेता गुरुङ

588 Shares

गण्डकी । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन्। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताए।

वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले पत्रकार जगत्ले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताउँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले समाजका सत्य–तथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिए।

चौतारीमा आबद्ध पत्रकार नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो।

नेकपा (एमाले) सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले माओवादीले एमसीसी सम्झौतामा सडक र सदनमा दोहोरो चरित्र देखाएको बताए।

सञ्चार क्षेत्रले समाज परिवर्तनका लागि खोजमूलक पत्रकारितामा जोड दिँदै उनले त्यसका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए। पार्टी पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज मना केसीले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनतासमक्ष पुर्‍याउन पत्रकारले जिम्मेवार भएर लाग्नुपर्ने बताइन्।

प्रेस चौतारी नेपालको वैशाख २७ र २८ गते पोखरामा हुने नवौँ महाधिवेशन आयोजक कमिटी संयोजक गणेश पाण्डेले महाधिवेशन सम्पन्न गर्न सबैको साथ–सहयोग रहने विश्वास व्यक्त गरे। कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका प्रेस चौतारीका संस्थापक, केन्द्रीय पदाधिकारीलगायत १७ जनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो।

प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारीका नेता दुर्गाप्रसाद शर्मा, रामकृष्ण शर्मा, विद्रोही गिरी, प्रकाशचन्द्र भट्टराईलगायतले पत्रकारिता क्षेत्रको भूमिका र महत्वमाथि चर्चा गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार