काठमाडौं । अमेरिकी सहायता एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि भन्दै सत्ता गठबन्धनको बैठक बस्दै छ ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, पक्षमा उभिने या विपक्षमा भन्ने विषयमा गठबन्धनका आबद्ध दलहरुबीच छलफल हुनेछ । यसअघि सरकारले बुधबार नै संसदमा एमसीसी प्रस्तुत गर्ने तयारी गरेको थियो । तर गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रस्ट निर्णय नदिँदा कांग्रेस पनि अन्यौलमा छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएर गठबन्धनको बैठक बोलाउने गरेका थिए ।
सुरूदेखि नै एमसीसीको विरोध गर्दै आएको माओवादीले यथास्थितिमा एमसीसी संसदमा लैजाने भए आफू विपक्षमा मतदान गर्ने र सरकारबाटै बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवा समेत बुधवार एमसीसी प्रस्तुत नगर्ने पक्षमा पुगेका थिए ।
आज गठबन्धनमा थप छलफल गरेर ठोस गर्ने बताइएको छ । गठबन्धनकै अर्को मुख्य दल नेकपा एकीकृत समाजवादी र सानो दल राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विरोधमा छ ।