काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ सांसदहरुविरुद्ध गरेको रिट निवेदनको सुनुवाई आज हुँदैछ । पटकपटक पेशी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा आज भने न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा परेको हो ।
एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा दलबाट निस्कासन गरि कारबाही गरेको थियो । एमालेले उनीहरूलाई दलबाट निस्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले सांसद् पदबाट मुक्त नगरेको भन्दै मुद्दा परेको थियो ।
आज सो मुद्दामा आदेश आउने सम्भावना रहेको सर्वोच्च स्रोतले जनाएको छ । यदि अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दियो भने नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनको सांसद पद रहने छैन ।
१४ सांसद्सँगै सूर्य चिन्हबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद विमला वली र अजय शाहीको मुद्दामा समेत एकैसाथ पेशी चढेको छ ।