काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियसभा सदस्य निर्वाचनमा हारेर पनि जितेको टिप्पणी गरेका छन् ।
बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा चुनावी परिणामपछि उनले यस्तो टिप्पणी गरेका हुन् । चुनावी परिणाम कस्ता लाग्यो ? भन्ने प्रश्नमा उनले भने, ‘ एमाले पार्टीले हारेर पनि जितेकै हो । सबै एकातिर लाग्दा यो अपेक्षित नै हो ।’ उनले परिणाम अनौठो नभइ अपेक्षित भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘ परिणाम अनौठो होइन । अपेक्षित हो । दुइटै जितिन्थ्यो कि भन्ने थियो एउटा जितियो, एउटामा बराबर भएर हारियो ।’ उनले एमालेसँग बहुमत नभएपनि अरुको भोट पाएर जित्नु र बराबरीमा रोकिनु एमालेको लागि ठूलो र अर्थपूर्ण रहेको बताए ।
उनले भने, ‘आफूसँग बहुमत नहुँदा नहुँदै अर्काको भोट ल्याएर एउटा जित्नु र एउटा बराबरमा रोकिनु एमालेका लागि ठुलो कुरा हो।’ उनले अब हुने प्रत्यक्ष निर्वाचनमा एमालेले गठबन्धनलाई हराउने अन्तिम चुनाब हुनेसमेत जिकिर गरे। उनले भने, ‘अब यसको अर्थ जनताको प्रत्यक्ष निर्वाचनमा हाम्रो परिणाम कस्तो आउँछ भन्ने पनि हो । र यो नै गठबन्धनले हराउने अन्तिम चुनाव हो ।’