काठमाडौं । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताएका छन् ।
मंगलबार बैठकमा बोल्दै सदस्य भट्टराईले देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न नसकेको दाबी समेत गरे ।
उनले सरकारको अकर्मण्यता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढीरहेको आरोप लगाए । भट्टराईले सभामुखको अकर्मण्यताबाट संघीय संसद् पनि प्रभावित रहेको र सही ढंगबाट चल्न नसकेको बताए ।
उनले सरकार र सभामुखले संसद् चलाउन नचाहेको आरोपसमेत लगाए । देश सरकार विहीनताको अवस्थामा रहेको भन्दै अहिले जनताले सरकार छ र ? भन्न थालेको उनको आरोप छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐनसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गरिन् । राष्ट्रिय सभाको अर्को बैठक आगामी पुस ५ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।