काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका छन् ।
सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली काँग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको दाबी गरेका हुन् ।
उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाए । उनले भने – ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने बित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्युत भएर दक्षिणपन्थीको सेवामा समर्पित गरिहाल्ने । यो इतिहासको शिक्षा हो । उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजहरूले भन्ने गरेका थिए त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि देखियो ।
हाम्रै आन्दोलनको लामो समयको नेताका रूपमा रहनुभएका माधव नेपाल जसलाई हामीले ३ कार्यकाल पार्टीको प्रमुखको रूपमा जिम्मेवारी सुम्प्यौँ, उहाँलाई नेता मान्यौँ । उहाँले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो । हामीले भन्यौँ ६२/६३ को परिवर्तन पछाडि अब समाज कहाँ जाने भन्ने कुराका सन्दर्भमा दुईवटा कित्ताका बिचमा बाँडिनेछ, एउटा समाजवाद तर्फको यात्रा । एउटा पुँजीवाद तर्फको यात्रा ।
पुँजीवाद तर्फको यात्राको नेतृत्व काँग्रेसले गर्छ भनेर भन्यौँ । आज प्रचण्ड र माधव नेपालहरू काँग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लाग्नुभाछ भनेपछि दक्षिणपन्थी अवसरवाद भनेको यही हो । यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मक्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’
महासचिव पोखरेलले एमालेलाई तिनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रूपमा स्थापित गर्नु जरुरी रहेको बताउनुभयो । एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उनले सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता रहेको औँल्याए । पार्टीले अघि सारेको एजेण्डा र लक्ष्यका कारण बहुमत जनताको समर्थन प्राप्त गर्न सम्भव रहेको उनको भनाई छ ।