काठमाडाैँ । नवौँ महाधिवेशनबाट माधव नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित केपी शर्मा ओली नेकपा एमालेको १०औँ महाधिवेशनबाट फराकिलो मतका साथ पुन:अध्यक्ष पदमा दोहोरिएका छन् ।
नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग भएको प्रतिस्पर्धामा झिनो मतले विजयी भएका ओलीले १०औँ महाधिवेशनमा आफू अध्यक्ष रहने गरी बनाएको पदाधिकारी टिम नै विजयी भएको छ ।
सहमतिबाटै महाधिवेशन पदाधिकारी र केन्द्रीय सदस्यको नामावली टुंगो लगाएर नेपाली राजनीतिमा फरक सन्देश दिन खोजे पनि अन्तत: उनको चाहना पूरा हुन सकेन । यद्यपि प्रतिस्पर्धाबाट उनले चाहे बमोजिमकै नेतृत्व र पदाधिकारी चयन भएको छ ।
सहमतिबाट नेतृत्व चयन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष र महासिचव चयन गर्न सकसमा परेका ओलीलाई सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट हटेर सहयोग गरेका हुन् । नेम्वाङलाई राजकीय पदमा लैजाना गरी विषय टुङ्गिएको बुझिएको छ ।
निर्वाचनका क्रममा पूर्वमाओवादी धारका नेताले उपाध्यक्षलगायत पदाधिकारीमा दिएको उम्मेदवारीलाई लिएर निकै महत्वका साथ हेरिएको थियो । निर्वाचनका क्रममा जहाँ-जहाँ माओवादीले उम्मेदवारी दिए त्यहीँ त्यहीँ उम्मेदवार खडा भएका थिए ।
जसलाई लिएर एमालेभित्र माओवादीका नेताको राजनीति सकियो भन्ने अभिव्यक्ति विभिन्न माध्यमबाट बाहिरिएको थियो । यी अभिव्यक्तिसँगै पदाधिकारी प्रतिस्पर्धामा सामेल एमालेभित्रका पूर्व माओवादीबाटै यही प्रतिपस्पर्धाको नतिजाले आगामी दिनमा आफ्नो राजनीतिक भविश्य निर्धारण गर्ने अभिव्यक्ति दिएका थिए ।
तर, नतिजा बाहिर हल्ला गरेजस्तो गरी आएन । अध्यक्ष ओलीले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुपूर्व नै सिफारिस गरेअनुरुप पदाधिकारी चयन भए । बरु एमालेभित्र सैद्धान्तिक रुपमा अब्बल छवि बनाएका घनश्याम भूसाल फराकिलो मतले पराजित भए ।
जुन मत २०७७ पुस २३ को सर्वोच्चको आदेशसँगै नेकपा विभाजनपश्चात् नेकपा एमालेमै रहेका रामबहादुर थापाको तुलनामा आधाभन्दा कम थियो । रामबहादुर थपाले १७६८ मत ल्याएका थिए भने भुसालले ७२५ मत मात्रै प्राप्त गरेका थिए ।
त्यसैगरी, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट उत्साहजनक नतिजाका साथ विजयी भएका छन् । यसले नेकपा एमाले ओलीमय अर्थात् ओली सबैका नेता हुन भन्ने कुरालाई पुष्टि गरेको छ ।
संविधानसभाबाट संविधान जारीसँगै भारतले गरेको नाकाबन्दीविरुद्ध उभिएर राष्ट्रवादी छवि बनाएका ओली नेपाली राजनीतिक वृत्तमा पछिल्लो समय नेतृत्व र विचारकका रुपमा स्थापित भएका छन् ।
संविधान जारीसँगै भारतले गरेको नाकाबन्दीविरुद्ध लिएको अडान, चीनसँग भएको पारवहन सम्बन्ध, नेपाल-भारतबीच विवादित रहेको भूमि लिम्पियाधुरा,लिपुलेकलगायत भूमि नेपालको संविधानको अंग र सो भूमि नेपाली भूमिमा समाहितका लागि गरेको प्रयासका कारण उनी राष्ट्रवादी नेताको छवि बनाउन सफल भएका हुन् ।
विकास निर्माणको सन्दर्भमा रानीपोखरी र धरहरा निर्माण, उपत्यकावासीलाई सुन्दरीजलको पानी खुवाउने, एकैदिन ३१५ हस्पिटलको उद्घाटन, औद्योगिक क्षेत्रको उद्घाटनलगायत कार्य पनि उनका स्मरणयोग्य कार्य हुन् ।
नवौँ महाधिवेशनबाट माधव नेपालसँग प्रतिस्पर्धा गरेर अध्यक्ष पदमा निर्वाचित भएका ओली १०औँ महाधिवेशनका क्रममा फराकिलो मतान्तरले विजयी भएका छन् । अध्यक्ष पदमा ओलीलाई भीम रावलले चुनौति दिएका थिए ।
चुनावी प्रतिस्पर्धाका क्रममा ओलीले १८०८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीले मात्रै २२३ मत मात्र पत प्राप्त गरेका थिए । ओली र रावलबीच भएको प्रतिस्पर्धामा ३९ भोट तटस्थ थियो ।
यो प्रतिपस्पर्धाले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रलाई जिवित राखेपनि एमालेभित्र ओलीको वर्चस्व, आवश्कयता र लोकप्रियता कति छ भन्ने देखाएको छ ।
पदाधिकारी र अन्य समितिमा कसलाई ल्याउने कसलाई हटाउने भन्नेमा उनको एकल निर्णय रह्यो । यसबारे उनलाई कसैले पनि टक्कर दिएनन् । बरु वरिष्ठ उपाध्यक्षमा उनी निकट मनिने सुवास नेम्वाङ र ईश्वर पोखरेलबीच भएको प्रतिस्पर्धामा ओलीकै आग्रहमा नेम्वाङ ब्याक भएर सहयोग गरे ।
त्यसैगरी, उनकै मनसाय अनुरुप लामो समय एमालेमा काम गरेका नेताको सट्टा पार्टी एकीकरणको क्रममा नेकपा एमालेमा आएका माओवादी नेतृत्व पदाधिकारीमा चयन भएका छन् । यसले नेकपा एमालेमा ओली निर्विकल्प नेतृत्व भएको पुष्टि गरेको छ।