Logout

चर्चामा

एमाले युवा नेताहरुको प्रस्ताव– ‘चारपटक केन्द्रीय सदस्य भएकलाई रोकौं’

905 Shares

काठमाडौं । नेकपा एमालेमा एक कार्यकाल पनि केन्द्रीय सदस्य नभएका युवा नेताहरुले चार पटक केन्द्रीय सदस्य भएकाहरुलाई पाँचौ पटक रोकिनुपर्ने बताएका छन् ।

पार्टीको दसौं महाधिवेशनमा नेतृत्व दाबी तीब्र भइरहेकाबेला काठमाडौंमा भेला भएका युवा नेताहरुले पाँच पटकसम्म केन्द्रीय कमिटीमा दोहोरिने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए । गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हिराबहादुर केसीले पाँच पटकसम्म केन्द्रीय कमिटीमा दोहोरिरहँदा नयाँलाई ढोका बन्द भएको बताउनुभयो । ‘पदाधिकारीमा दुई कार्यकालसम्म मात्र भनिएको छ, केन्द्रीय सदस्यलाई सीमा तोकिएको छैन,’ उहाँले भन्नुभयो, ‘पाँच पाँच पटकसम्म केन्द्रीय सदस्य भइरहँदा नयाँ छेकिरहेका छन् ।’

केसीले केन्द्रीय कमिटीमा रहेका नेताहरुको कार्यसम्पादन मूल्यांकन हुनुपर्ने, स्वैच्छिक अवकास दिनुपर्ने, अवकासमा जानेलाई पुरस्कृत गर्नुपर्ने र पार्टीमा थिंक ट्यांक समूह बनाउनुपर्ने प्रस्ताव गर्नुभयो ।

अनेरास्ववियुका पूर्वअध्यक्ष किशोरविक्रम मल्लले युवाहरुलाई केन्द्रीय कमिटीमा सहभागी गराउने विषयलाई अभियानकैरुपमा लैजानुपर्ने बताउनुभयो । ‘नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने पदाधिकारी तहका नेताहरुलाईसमेत यस विषयमा सहभागी गराउनुपर्छ,’ उहाँले भन्नुभयो ।

अनेरास्ववियुका पूर्वउपाध्यक्ष रामकुमार बस्नेतले शालिनतापूर्वक व्यवस्थितरुपमा अभियान चलाउनुपर्ने बताउनुभयो । ‘हामी शालिनतापूर्वक अपिल गरौं, ता कि उहाँहरुलाई पनि महसुस होस्,’ बस्नेतको भनाइ छ ।

अनेरास्ववियुका पूर्वमहासचिव शोभियत ढकाल, योगेन्द्रबहादुर शाहीले महाधिवेशनमा सूची नबाँडी चुनाव भए केही युवाले केन्द्रीय कमिटीमा प्रवेश पाउने दाबी गर्नुभयो । एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले युवाहरुको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

भेलामा युवा नेताहरु महेश बर्तौला, शैलेश तामाङ, पदम गिरीलगायतको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार