काठमाडौँ । सरकारले महिला हिंसाविरुद्धको १६ दिने अभियानको तयारी सुरु गरेको छ। ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा तय गरेर १६ दिने अभियानको तयारी सुरु गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।
महिला हिंसाविरुद्धको अभियानको तयारीबारे महिला मन्त्रालयमा भएको छलफलमा मन्त्री उमा रेग्मीले हिंसा न्यूनीकरण गर्ने अभियानमा गम्भीर भएर लाग्न निर्देशन दिइन।
विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विज्ञ, सरोकारवालहरूसँगको छलफलमा मन्त्री रेग्मीले हिंसा न्यूनीकरणमा सबै सङ्घसंस्था गम्भीर भएर लाग्नु पर्ने बताइन।
उनले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्याउनु पर्ने बताइन। ‘हिंसाको सुरुवात घरबाटै हुने गरेको छ,’मन्त्री रेग्मीले भनिन्,‘गाउँ टोलसम्म हिंसाविरुद्धको अभियान पुर्याएर घरबाटै हुने हिंसा अन्त्य गर्न सबै गम्भीर भएर लागौँ।’
