काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानबाट अभिनन्दित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई देशको सबैभन्दा ठूलो पार्टी बनाएको तथा इतिहास जोगाएकोमा उहाँलाई अभिनन्दन गरिएको हो ।
‘तपाईको प्रधानमन्त्रीकालमा मुलुकले राष्ट्रियताको सम्बर्धन र नेपाली जनताको जीवनस्तरको विकासको लागि गर्नुभएको काम प्रशंसनीय र अतुलनीय छ’, उहाँलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।प्रतिष्ठानले ओलीलाई नेकपा एमालेलाई देशकै ठूलो पार्टी बनाएकोमा बधाई पनि दिएको छ ।
‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन सफल हुनु भएकोमा यहाँलाई हार्दिक बधाई व्यक्त गर्दछौँ’, अभिनन्दन पत्रमा उल्लेख छ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेपालको २००७ अघिको राजनीतिक इतिहास उल्लेख गरेर एमालेले इतिहासलाई दस्तावेजीकरण गरेको प्रतिष्ठानले जनाएको छ ।
‘प्रतिवेदनको खण्ड ४ को पृष्ठ २५ र २६ मा वि।सं १९७१ र १९९७ सालको घटनाको समीक्षा गर्दै नेपाल प्रजापरिषदको योगदान र एकीकरणको इतिहास दस्तावेजमा लिपिबद्ध भएकोमा हामी हर्षित भएका छौँ’, प्रतिष्ठानले भनेको छ । राजनैतिक पार्टीका नेताहरुले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तथा पृष्ठभूमिमा वि।सं २००७ सालको परिवर्तन र त्यसपछि राजनीतिक घटनाक्रमलाई मात्र महत्व दिई लिपिबद्ध गर्ने प्रचलनलाई तोडेर एमालेले इतिहासको रक्षा गरेको प्रतिष्ठानले जनाएको छ ।
‘त्यसो गर्दा नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषदको स्थापना र त्यसले नागरिक आन्दोलनका लागि गरेको पर्चा अन्दोलन र १९९७ सालको चरम दमनलाई ओझेलमा परेको हाम्रो ठम्याइ रहँदै आएको छ’, ओलीलाई प्रदान गरिएको अभिनन्दन पत्रमा उल्लेख छ ।
अब नेपाल प्रजापरिषदको विरासत र इतिहास नेकपा ९एमाले० मा समाहित भएको प्रतिष्ठानले जनाएको छ । ‘हामीलाई आशा छ हामीले एमालेसँग एकीकरण गरेकोमा सदैव गौरव गर्न पाउने छौँ।र एकीकरणमा गएका नेता कार्यकताहरू खुसी रहने छन् भन्ने हामी विश्वास छ’, अभिनन्दन पत्रमा लेखिएको छ ।
प्रतिष्ठानका अध्यक्ष अरविन्द रिमाल र महासचिव गोविन्दप्रसाद दुलालले हस्ताक्षर गर्नुभएको अभिनन्दनपत्रमा एमालेले राजनीतिक दस्तावेजद्वारा इतिहासको सम्मान गर्ने परिपाटी सुरु गरेको भन्दै कृतज्ञता व्यक्त गरिएको छ ।