कैलाली । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन् । आज एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन् ।
उनको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाललगायतको उपस्थिति थियो । २०६४ सालदेखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थिए ।
उनी कञ्चनपुर बेलौरी नगरपालिका ४ का हुन् । स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका व्यक्ति एमाले प्रवेश गरेपछि आगामी निर्वाचनमा कांग्रेसलाई धक्का पुग्ने आँकलन गरिएको छ ।
यो पनि हेर्नुहोस्
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टी फुटाएर गएका नेता माधवकुमार नेपालप्रति व्यंग्य गर्दै कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने टिप्पणी गरेका छन् । ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ समाजिक संजालमा रावलको प्रतिक्रिया छ ।
शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरूले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दावी गरेका थिए । एमाले विवाद समाधान कार्यदलका संयोजक समेत रहेका राववले नेपाललाई जवाफ फर्काउँदै सहमति भइसकेपछि मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने धेरै अध्ययनको आवश्यकता नपर्ने समेत टिप्पणी गरेका छन् ।
उनको भनाइ छ, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’ नेता नेपालले दोस्रो तहका भनिने नेताहरू आफ्नो पार्टीमा आए आफू अध्यक्ष छोड्न तयार रहेको समेत बताएका थिए । त्यसको जवाफमा नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।