काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूलाई कोही ठेगान लगाउने उद्देश्यले आउन खोजे उनीहरूलाई बाटोमै ठेस लाग्ने बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टीमा आउने भए काम गर्न र पार्टी बनाउनका लागि मात्र आउन प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन्। ‘यस्सो वक्तव्यबाजी सुन्छु, हामी फर्किन्छौं। केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भनेको।
खुट्टी देखेरै पत्याइयो’, प्रधानमन्त्री ओलीले अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै भने, ‘काम गर्न, पार्टी बनाउन आउनुस्। केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ।’ ओलीले नेपाल पक्षलाई चैत ७ गते बैठकमा आउन आह्वान गरे। ‘उहाँहरू पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे। एक–दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु’, ओलीले भने, ‘कसैले थाहा पाइनँ नभन्नुहोला। अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ।
त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहन्छु- ७ गतेको बैठकमा आउनुहोला।’ उनले पार्टी बैठकमा तीनपटक अनुपस्थित नेतालाई कारबाही हुन सक्ने विधानको व्यवस्थातर्फ संकेत गर्दै अनुपस्थित रहँदै गए विधानअनुसार हँुदै जाने बताए। उनले आफूलाई माधव नेपालहरूले तीनपटक साधारण सदस्यबाट र अध्यक्षबाट निकालेको प्रसंग पनि उप्काउँदै ‘सक्ने भए के के गर्ने रहेछन्’ भन्ने पुष्टि भएको बताए।
‘विधि र पद्धतिका कुरा गर्ने तर बाहिर–बाहिर हस्ताक्षर गरेर, विधि र पद्धति भन्या के हो ? पार्टीको बैठक बस्या छैन अध्यक्ष निकाल्या रे। दलको नेता फे¥या रे, बैठक बस्या छैन, अर्को एक जना अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए। अध्यक्ष भए अरे’, उनले भने, ‘बाटा–बाटामा अध्यक्षको पगरी गुथेर हिँडेका छन्। यिनीहरूले मलाई तीन–तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन्। देख्नुभयो नि, यिनीहरूले सक्ने भए के के गर्ने रहेछन्।’ पार्टीमा आउने जुन कुनै समस्याको पनि सामना गरेर अगाडि बढ्ने उनको भनाइ थियो।
उनले पार्टीबाट आफूले कसैलाई पनि नहटाएको तर काम गर्नेहरूलाई जिम्मेवारी दिइएको बताए। ‘उहाँहरूले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन, पार्टी सदस्यबाट निकालेँ भन्या छैन, अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीलाई केही कामको जिम्मा दिएका छौं’, उनले भने, ‘जिम्मा दिँदाखेरि फेरि दलिनमा टाउको ठोक्किने गरी उफ्रिराख्नुभएको छ, किन उफ्रिराख्नु, बैठकमा आए भइगो। ७ गते बैठक बोलाइएको छ।
आउनुस्, छलफल गरौंला।’ उनले बाटो बिराएका नेताहरूलाई सच्चिएर आउन आग्रह गरे। भने, ‘बाटो बिराएका नेताहरूलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस्।’ उनले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वाेच्चले बदर गरेपछि खुसियाली मनाएको भन्दै उनले नेपाल पक्ष पार्टी, आन्दोलन र देश बर्बाद पार्ने काममा मात्र लागिपरेको आरोप लगाए।