काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूको भेटवार्ता बाक्लिन थालेको छ । यस क्रममा आसन्न महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहबीच सोमवार निधिको निवासमा लञ्च मिटिङ भएको छ ।
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलाएका नेतात्रयबीच आसन्न महाधिवेशनको विषयमा छलफल भएको स्रोतले बतायो । तीन जना नेता कांग्रेस संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारका सदस्यहरू हुन् ।
उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगायत समसामयिक विषयमा छलफल भएको छलफलमा सहभागी नेताका एक सहयोगीले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट सभापतिमा लड्ने बताइरहँदा निधि, कोइराला र सिंहको सोमवारको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने सहमति भएको छ । आज तीन नेताबीच सौहार्दपूर्ण छलफल भएको छ, आगामी दिनमा पनि छलफल गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो । आजको भेटमा निधिले आफूले उम्मेदवारी दिने तयारी गरेको बताएका थिए ।