काडमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हलमा दिउँसो ३ बजे बैठक बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । खाणका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।
छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने उनको भनाइ छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दबाब दिने छदैछ । सरकार संसदबाट भाग्न खोजेका देखिएको छ ।
सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेसम्म संसद अधिवेशन नै बोलाएको छैन । बजेट ल्याउनुअघि संसदमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ। तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ।
बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था सरकारले लत्याइसकेको छ ।
यस्तै प्रतिनिधिसभामा विश्वासको मत गुमाएर फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी ओली ३० दिनभित्र विश्वासको मत लिने तयारीमा छन् । यता जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । यी सबै विषयका सन्दर्भमा बैठकले रणनीति बनाउने खाणको भनाइ छ ।