काठमाण्डौ । नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री योगेश भट्टराईले देशको सबै ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल मार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै नेता भटराईले अहिले सबै कुरा छाडेर कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्ने बताउनुभएको हो । उहाँले बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले सबैलाई लज्जित बनाएको भन्दै संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्नसक्ने बताउनुभएको छ ।
उहाँले भूकम्पपछि दलहरुले सहमति गरेर संविधान बनाएको जस्तै अहिले सबै दलहरु मिलेर महामारी विरुद्ध लड्नुपर्ने बताउनुभएको छ । नेता भट्टराईले कोरोना विरुद्धको लडाइँमा खटेकाहरुबाहेक राज्यबाट पारिश्रमिक लिने सबैको सुविधा स्थगित गर्न, अरु शीर्षकका बजेट कोरोना रोकथाममा प्रयोग गर्न र सबै जनशक्तिलाई कोरोना विरुद्ध केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।