Logout

चर्चामा

कोरोना नियन्त्रणको सम्पूर्ण कमान्ड प्रधानमन्त्रीले लिनुपर्छ : भट्टराई 

421 Shares

काठमाडौँ । कोरोना नियन्त्रण प्रभावकारी रूपमा गर्नका लागि प्रधानमन्त्रीले नेतृत्व लिनुपर्ने सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बताएका छन् । मन्त्रालयबीच समन्वय अभाव रहकाले सरकारले प्रभावकारी रूपमा कोरोना नियन्त्रणका कदम चाल्न नसकेको भन्दै भट्टराईले कोरोना नियन्त्रणको सबै  जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने सुझाव दिएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा भएको कोरोना नियन्त्रणबारेको छलफलका क्रममा भट्टराईले विभिन्न मन्त्रालय र तहबीच समन्वय अभावमा कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको बताए ।

भट्टराईले स्वास्थ्य मन्त्रालयले विज्ञहरूको सुझाव लिनुपर्ने र विदेशमा कोरोनासम्बन्धि कस्ता घटना भइरहेका छन् भन्नेबारे ताजा विवरण लिन र त्यसको विश्लेषण गर्न विज्ञ राख्नुपर्ने सुझाव दिए ।

कोरोना संक्रमितलाई राख्न अस्पतालमा बेड अभाव भइरहेको रिपोर्ट आइरहेको अवस्थामा मुलुकका कुन अस्पतालमा कति बेड छन् र तिनको अवस्था के हो भन्नेबारे यकिन विवरण पलपलमा अनलाइनमा राख्न पनि उनले सुझाव दिए ।

अस्पताल बेडहरूको पब्लिक अडिट हुनुपर्छ । कहाँ कति बेड कस्तो अवस्थामा छन् भन्नेबारे यकिन विवरणमा अनलाइनमा राख्नुपर्छ । संक्रमित बेड कहाँ छ भनेर खोज्दै हिँड्ने हैन कि अनलाइन हेरेर खाली ठाउँमा जाने व्यवस्था गर्नुपर्छ, उनको सुझाव थियो ।

कोरोना नियन्त्रणका लागि आवश्यक निर्णय लिन सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको छ । जसले मन्त्रिपरिषद्लाई के गर्ने भन्ने सिफारिस मन्त्रिपरिषद्लाई गर्दै आएको छ । सीसीएमसीलाई लिएर सुरुदेखि नै मन्त्री, सांसदहरूले प्रश्न उठाउँदै आएका छन् । सीसीएमसीको वैधानिकतामा पनि प्रश्न उठ्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार