Logout

चर्चामा

जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्छ : प्रधानमन्त्री कार्की

902 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले जेनजी आन्दोलनका मागहरू आगामी सरकारले अनिवार्य रूपमा पूरा गर्नुपर्ने बताएकी छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको ६ महिने चुनावी सरकारले सबै माग पूरा गर्न नसके पनि आवश्यक आधार तयार गरिएको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले छोटो अवधिको अन्तरिम सरकारले मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गर्नु भएको भन्दै जेनजी आन्दोलनका माग सम्बोधन गर्ने कार्य अब नयाँ सरकारको प्राथमिकता हुनुपर्ने उल्लेख गरिन्। उनले आन्दोलनका क्रममा उठाइएका विषयहरू—भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्याय—लाई नयाँ सरकारले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरिन्।

उनका अनुसार सरकारले भ्रष्टाचार र जटिल अपराधको छानबिन गर्ने निकायलाई स्वतन्त्र रूपमा काम गर्न प्रोत्साहन दिएको छ। यसकै परिणामस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले लामो समयदेखि थन्किएका मुद्दाहरू अघि बढाएको बताइएको छ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि बनेको सरकारले आन्दोलनकारीसँग २०८२ मंसिर २४ गते सम्झौता गरेको स्मरण गर्दै त्यसका बाँकी काम आगामी सरकारले प्राथमिकताका साथ पूरा गर्ने अपेक्षा व्यक्त गरिन्। साथै आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको र त्यसका सिफारिस कार्यान्वयन गर्न नयाँ सरकारले कदम चाल्ने बताइन्।

सम्बोधनका क्रममा उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्। साथै आन्दोलनका क्रममा भएको क्षति र हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै देशलाई पुनः स्थायित्वतर्फ लैजान सबैलाई एकजुट हुन आह्वान गरिन्।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कठिन परिस्थितिमा पनि प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै अब जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने चरणमा पुगेको बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार