Logout

चर्चामा

पहिले जित्दा विकासको गति बढ्यो, अब अधुरा योजना पूरा गर्ने अवसर दिनुस् :महेश बस्नेत

227 Shares

 

काठमाडौं, फागुन १२
नेकपा एमालेका सचिव तथा भक्तपुर–२ का प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतले आफू निर्वाचित भएको कार्यकालमा क्षेत्रको भौतिक तथा सामाजिक विकासमा उल्लेखनीय परिवर्तन आएको दाबी गर्दै पुनः एकपटक जनताको साथ मागेका छन्। मंगलबार भक्तपुर–२ अन्तर्गतका विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अघिल्लो कार्यकालमा सुरु गरिएका तर पूरा हुन बाँकी रहेका योजनाहरू सम्पन्न गर्न फेरि अवसर दिन आग्रह गरेका हुन्।

बस्नेतले २०७४ सालको निर्वाचनमा जनताले दिएको विश्वासलाई विकासमार्फत प्रतिफल दिन सफल भएको उल्लेख गरे। उनका अनुसार त्यस अवधिमा सडक सञ्जाल विस्तार, पुल निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, साथै शिक्षा क्षेत्रको पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर काम गरिएको थियो।

“पहिले भक्तपुर–२ का धेरै बस्तीमा सडक नपुगेको अवस्था थियो,” उनले भने, “जहाँ सडक थिएन, त्यहाँ नयाँ ट्र्याक खोलियो, कच्ची सडक भएका ठाउँमा पक्की सडक बने। खोलानालामा पुल बनेपछि आवतजावत सहज भयो र स्थानीय जनजीवनमा प्रत्यक्ष परिवर्तन आयो।”

उनले भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरू आफ्नै कार्यकालमा पुनर्निर्माण भएको दाबी गर्दै शिक्षा क्षेत्रलाई मजबुत बनाउने प्रयास निरन्तर गरिएको बताए। साथै, आफू सांसद नभएको अवस्थामा पनि विपद्बाट प्रभावित नागरिकका लागि आवास व्यवस्थामा सक्दो सहयोग गरेको उनको भनाइ थियो।

“म पदमा हुँदा मात्र होइन, बाहिर हुँदा पनि जनताको दुःख–सुखमा साथ दिन खोजेँ,” बस्नेतले भने, “म शासक बन्न होइन, सेवक भएर काम गर्न आएको हुँ।”

बस्नेतका अनुसार २०७४ देखि २०७९ सम्म सुरु गरिएका केही ठूला विकास आयोजना विभिन्न कारणले पूर्ण हुन सकेनन्। ती योजनालाई अधुरै छोड्नु आफ्नो चाहना नभएको भन्दै उनले आगामी कार्यकालमा तिनलाई प्राथमिकताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

“विकासको जग बसिसकेको छ,” उनले भने, “अब त्यसलाई पूर्णता दिने चरणमा छौँ। अधुरा काम पूरा गर्न र भक्तपुर–२ लाई अझ व्यवस्थित, सुरक्षित र समृद्ध बनाउन फेरि एकपटक जनताको विश्वास चाहिएको छ।”

उनले स्थानीय आवश्यकता र जनचासोलाई केन्द्रमा राखेर आगामी दिनमा रोजगारी, युवा लक्षित कार्यक्रम, खानेपानी, ढल व्यवस्थापन तथा सांस्कृतिक सम्पदाको संरक्षणमा थप काम गरिने योजना पनि सार्वजनिक गरे।

कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले विकासका काम देखिएको प्रतिक्रिया दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयन र पारदर्शिता आवश्यक रहेको सुझाव दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार