Logout

चर्चामा

चुनाव सार्ने हल्लामाथि एमालेको कडा आपत्ति, भन्यो– फागुन २१ मै निर्वाचन हुनुपर्छ

226 Shares

 

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सर्ने हल्ला तीव्र रूपमा फैलिरहेका बेला नेकपा एमाले ले त्यसप्रति कडा आपत्ति जनाएको छ। पार्टीले कुनै पनि बहानामा तोकिएको मितिबाट निर्वाचन सार्न नहुने स्पष्ट धारणा सार्वजनिक गरेको छ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा एमाले निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाही ले निर्वाचन सार्ने चर्चा र हल्लाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। उनका अनुसार संविधान र लोकतान्त्रिक प्रक्रियाको मर्मअनुसार निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्छ।

शाहीले भने, “अहिले विभिन्न माध्यमबाट निर्वाचन सर्ने हल्ला फैलाइएको छ। त्यसप्रति नेकपा एमालेको गम्भीर आपत्ति छ। पुनः स्पष्ट रूपमा भन्न चाहन्छु—निर्वाचन समयमा नै हुनुपर्छ।”

एमाले कुनै पनि राजनीतिक, प्रशासनिक वा अन्य बहानामा चुनाव सार्ने पक्षमा नरहेको उनले स्पष्ट पारे। पार्टीको बुझाइमा निर्वाचन सार्ने चर्चा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने र मतदातामा अनावश्यक अन्योल र त्रास सिर्जना गर्ने प्रयास हो।

उनले निर्वाचन सार्ने हल्लाको उद्देश्यबारे प्रश्न उठाउँदै भने, “कुन दृष्टिकोणबाट, कुन राजनीतिक स्वार्थका लागि यस्तो हल्ला फैलाइँदैछ भन्ने विषयमा एमाले गम्भीर रूपमा चासो राखिरहेको छ। यसको भित्री उद्देश्य के हो भन्नेबारे राज्य स्पष्ट हुनुपर्छ।”

एमालेले समयमै निर्वाचन गरिनु लोकतन्त्रको आधार भएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको समयसीमा र जनताको मतदान अधिकारलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ। पार्टीका अनुसार चुनाव सार्ने चर्चाले राजनीतिक अस्थिरता बढाउने मात्र होइन, राज्यप्रति जनविश्वास कमजोर बनाउने खतरा पनि बोकेको छ।

पार्टी नेतृत्वले निर्वाचनको तयारीमा कुनै समस्या नरहेको र राज्य संयन्त्र सक्षम रहेको अवस्थामा चुनाव सार्ने बहस निरर्थक भएको दाबी गरेको छ। एमालेले निर्वाचन आयोग, सरकार र सरोकारवाला सबै निकायलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण सुनिश्चित गर्न आग्रह पनि गरेको छ।

राजनीतिक वृत्तमा निर्वाचन सर्ने सम्भावनाबारे चर्चा भइरहेका बेला एमालेको यो स्पष्ट र कडा अडानले आगामी दिनमा बहस अझ तीव्र हुने संकेत देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार