Logout

चर्चामा

दर्शकले नचाहेको फिल्म हलबाट हटाउने बहाना र नेपाली फिल्म उद्योगको यथार्थ

274 Shares

 

नेपाली फिल्म उद्योग विगत केही वर्षयता एउटा चिन्ताजनक प्रवृत्तिको सामना गरिरहेको छ – रिलिज भएको केही दिनमै फिल्म हलबाट हटाउने घटना। चलचित्र रिलिज हुने बित्तिकै ठूलो तामझाम, प्रचार(प्रसार र करोडौँको खर्च गरिन्छ। तर, दर्शकको प्रतिक्रिया कमजोर देखिनासाथ निर्माता आफैंले फिल्म हलबाट उतार्छन्। त्यसपछि “सही समयमा पुनः रिलिज” गर्ने घोषणा गर्छन्।

यो प्रवृत्ति कुनै नयाँ होइन। विगतका ‘रियाल रिंगेट’, ‘चिट्ठी’, ‘चपली हाइट ३’, ‘दिमाग खराब’, ‘सानो संसार’, ‘काँडेतार’ जस्ता फिल्महरू पनि विभिन्न कारण देखाएर प्रदर्शन रोकिन पुग्थ्यो। तर, तीमध्ये धेरैले पुनः हलमा फर्किए पनि अपेक्षित सफलता पाएनन्। प्रायः त ती फिल्म डिजिटल प्लेटफर्म वा युट्युबमा सीमित भए। यसले स्पष्ट संकेत गर्छ – समस्या केवल रिलिजको समय वा प्रचारमा होइन, फिल्मको सामग्री, कथा, निर्देशन, प्रस्तुति र दर्शकसँगको सम्बन्धमा पनि छ।

हालै प्रदर्शन भएका ‘श्री वुकुरो’, ‘शिवांश’ र ‘विगुल’ जस्ता फिल्महरू केही दिनमै हलबाट हटाइए। औपचारिक रूपमा निर्माताले विभिन्न कारण प्रस्तुत गरे – चुनावी माहोल, शो टाइमको कमी, हलको व्यवस्थापन आदि। तर वास्तविकता यो छ कि यस्ता बाह्य कारणले अन्य फिल्महरू प्रभावित भएका छैनन्। अघिल्ला हप्तादेखि प्रदर्शनमा रहेका ‘कुमारी’, ‘आ बाट आमा’ जस्ता फिल्महरू भने स्थिर प्रदर्शनमा छन्। यसको अर्थ, मुख्य कारण दर्शकको रुचि र प्रतिक्रिया हो।

नेपाली दर्शक पहिले जस्तो सजिलै प्रभावित हुँदैनन्। पहिले राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, रेखा थापाजस्ता स्टारहरूको पोस्टर मात्र देखेर हलमा भीड हुन्थ्यो। ब्ल्याकमा महँगो टिकट तिरेर पनि दर्शक फिल्म हेर्थे। त्यो समय, नेपाली फिल्म हेर्नु केवल मनोरञ्जन थिएनस यो विशेष अनुभव थियो।

आज समय बदलिएको छ। प्रविधिको विकास र डिजिटल प्लेटफर्मको पहुँचका कारण दर्शक घरमै बस्दा संसारभरका बहुप्रतिक्षित फिल्म र सिरिज हेर्न सक्छन्। युट्युब, नेटफ्लिक्स, एमाजोन जस्ता प्लेटफर्मले दर्शकलाई न्यूनतम खर्चमा उच्च गुणस्तरको सामग्री उपलब्ध गराएका छन्। यस्तो परिवेशमा, दर्शकलाई ५००–१००० रुपैयाँ खर्च गरेर हलमा नेपाली फिल्म हेर्न आउन प्रेरित गर्नु चुनौतीपूर्ण छ।

असफल फिल्मलाई रिलिज डेट, चुनाव वा शो टाइमको दोष दिन सजिलो छ, तर यसले वास्तविक समस्या समाधान गर्दैन। समाधान भनेको फिल्म निर्माणको प्रारम्भिक चरणमै कथा, निर्देशन, प्रस्तुति, कन्टेन्ट र बजार रणनीतिमा ध्यान दिनु हो। दर्शकलाई आकर्षित गर्ने शक्ति केवल फिल्मको कन्टेन्टमा हुन्छ। बाध्य पारेर होइन, मन जितेर मात्र सफलता सम्भव हुन्छ।

नेपालमा हालको प्रवृत्ति दर्शाउँछ – यदि निर्माता र निर्देशकले दर्शकको बदलिएको मनोविज्ञान बुझ्न सके र तदनुसार गुणस्तरीय फिल्म निर्माण गरे भने, हलबाट फिल्म हटाउने घटना कम हुने थियो। सफल र असफल फिल्मबीचको भिन्नता बाह्य कारण भन्दा बढी आन्तरिक तयारी र गुणस्तरमा निर्भर हुन्छ।

अन्ततः, नेपाली फिल्म उद्योगले आत्मविश्लेषणलाई प्राथमिकता दिनु पर्ने देखिन्छ। केवल बाह्य कारण देखाएर फिल्म हटाउने अभ्यासले उद्योगलाई दीर्घकालीन स्थायित्व र विश्वसनीयता दिन सक्दैन। निर्माता र निर्देशकले दर्शकको साँचो आवश्यकता र रुचि बुझेर फिल्म निर्माण गर्न सके मात्र नेपाली सिनेमा टिकाउ र सफल हुन सक्छ।

दर्शकको मन जित्न नसक्ने फिल्मको पुनः रिलिजले सफलताको सम्भावना न्यून बनाउँछ। यसैले, हलमा ल्याउने मात्र होइन, दर्शकको मन जित्ने कला सिक्नु नै दीर्घकालीन समाधान हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार