काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन काठमाण्डौ शाखाले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान दिन सोमवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरेको बताएका हुन ।
नेता सिंहले असंवैधानिक रूपमा संसद् विघटन गर्नुभएका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसद्लाई सामना गर्न नसकेको बताए । संसद्लाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उनले बताए ।
राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाइ कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पनि नेता सिंहले बताएका छन् । चुनावबाट कांग्रेसलाई प्रतिपक्षमा बस्न म्यान्डेट प्राप्त भए पनि कम्युनिस्ट सरकारले हैसियत गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने उनले बताए । पारदर्शी चुनाव गराउनका लागि पनि कांग्रेस नेतृत्वको सरकार चाहिने नेता सिंहको भनाइ छ ।
ओली नेतृत्वले गरेका कुनै पनि भेला कोरोनामुक्त हुने तर अरूले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने उनको भनाइ छ ।