

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘श्री बुकुरो स् द होम कलिङ’ को काठमाडौंमा प्रिमियर गरिएको छ। राजधानीको एक हलमा आयोजित प्रिमियर कार्यक्रममा फिल्मका कलाकार, निर्माता–निर्देशक तथा विभिन्न फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो।
प्रिमियरपछि फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ। वरिष्ठ निर्देशक तुलसी घिमिरे ले फिल्मलाई पेन्टिङजस्तो सुन्दर भन्दै ‘बुकुरो’ शब्दले पैतृक घरको भावनालाई गहिरो रूपमा अर्थ्याएको बताए। फिल्म हेर्दा आफू पुरानो घरमा पुगेजस्तो महसुस भएको र मुख्य अभिनेत्री लक्ष्मी गिरीको अभिनयले आमाको सम्झना दिलाएको उनको भनाइ थियो।
फिल्मले मानवीय संवेदनाका साना–साना पललाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरेको प्रतिक्रिया पनि आएको छ। बाल्यकालका स्मृति, बुढेसकालमा हुने पुनर्मिलन र पारिवारिक पात्रहरूको यथार्थ चित्रणले फिल्मलाई नजिकको र विश्वसनीय बनाएको सहभागीहरूको भनाइ छ।
निर्माता तथा वितरक छविराज ओझाले ‘श्री बुकुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै फिल्मले पारिवारिक सम्बन्ध, प्रेम र थातथलो जोगाउनुपर्ने सन्देश बोकेको बताए। सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो फिल्म पारिवारिक कथामा आधारित छ।
फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ। रुबी सेन सिंहले निर्माण गरेको यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु भइसकेको छ।