
काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को सातौँ सिजन अब अन्तिम चरणमा पुगेको छ। आउँदो शनिबार राति उपाधि विजेताको घोषणा हुँदैछ। फिनाले नजिकिँदै गर्दा चारै जना फाइनलिस्टहरू भने आफ्नो जन्मथलो पुगेर दर्शक–समर्थकसँग प्रत्यक्ष भेटघाट गर्दै भोट माग्न व्यस्त देखिएका छन्।
फाइनलमा पुग्ने प्रतिस्पर्धीहरूमा टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा, टिम खेम सेन्चुरीबाट सागर संसार राई र टिम राजु लामाबाट नीताकुमारी थापा छन्। उनीहरू सबैले ‘होम कलिङ’ चरणअन्तर्गत आफ्ना गाउँ तथा जिल्लाका विभिन्न स्थानमा पुगेर स्थानीयको समर्थन जुटाइरहेका छन्।
यसैबीच, चारै टिमका कोचहरू पनि आफ्ना प्रतिस्पर्धीको पक्षमा खुलेर उभिएका छन्। सामाजिक सञ्जालदेखि लिएर कन्सर्ट र सार्वजनिक कार्यक्रममा समेत कोचहरूले भोट आह्वान गरिरहेका छन्। निर्देशक लक्ष्मण पौड्यालका अनुसार, दर्शकहरूले शनिबार बेलुका ९ बजेसम्म मनपर्ने प्रतिभालाई भोट दिन सक्नेछन्।
फाइनलिस्ट सञ्जिता दूरा लमजुङका विभिन्न स्थानमा पुगेर भोट अपिल गरिरहेकी छन्। सदरमुकाम बेसीसहरमा समेत उनको समर्थनमा कार्यक्रम आयोजना हुने तयारी छ। पुनम गुरुङ भने तनहुँका विभिन्न ठाउँमा पुगेर भोट मागिरहेकी छन् भने टिम प्रमोद खरेलका कोच प्रमोदले झापामा हुने कन्सर्टमार्फत पनि आफ्नो टिमकी प्रतिस्पर्धीलाई भोट गर्न आग्रह गर्ने कार्यक्रम तय भएको छ।
त्यस्तै, सागर संसार राई गृहजिल्ला खोटाङमा पुगेर स्थानीय बासिन्दा, क्लब तथा आफन्तहरूसँग भेटघाट गर्दै समर्थन जुटाइरहेका छन्। नीताकुमारी थापा भने दैलेखमा रहेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
फिनालेको अवसरमा शुक्रबार र शनिबार विशेष एपिसोड प्रसारण हुनेछन्, जसमा अन्तिम १६ सम्म पुगेका प्रतिभाहरूको प्रस्तुति रहनेछ। साथै, सिजन ३ का विजेता किरण गजमेर र सिजन ६ का विजेता प्रोसेस पाण्डे ले पनि विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ।
उता, ‘भ्वाइस अफ नेपाल’सँगै ‘भ्वाइस किड्स’ को डिजिटल अडिसन पनि अहिले सञ्चालनमा छ, जसले नयाँ प्रतिभालाई थप अवसर प्रदान गरिरहेको छ।