२८ माघ, बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा कपिलवस्तु जिल्लाका संगठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।
बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंकिङ कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालमार्फत ती कागजात सार्वजनिक गरेपछि उजुरी परेको थियो। उजुरीकै आधारमा मंगलबार उनलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।
डीएसपी सिंहका अनुसार सामाजिक सञ्जालमा संवेदनशील सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाएको तथा व्यक्तिगत गोपनीयता उल्लंघन गरेको आरोप भट्टराईमाथि लागेको छ। सोही आधारमा उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले भट्टराई यसअघि पनि पटक–पटक सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने गतिविधिमा संलग्न हुँदै आएको दाबी गरेको छ।
हाल जिल्ला अदालत कपिलवस्तुबाट तीन दिनको म्याद थप गरी भट्टराईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।