Logout

चर्चामा

विश्वकपमा दबाब सामना गर्न नेपाली टोली तयार कप्तान रोहित

259 Shares

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपजस्तो ठूलो प्रतियोगितामा दबाब हुनु स्वाभाविक भएको भन्दै त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सक्ने टोली नै सफल हुने बताएका छन्।

टी–२० विश्वकपअन्तर्गत इटलीसँग हुने खेलअघिको प्रि–म्याच पत्रकार सम्मेलनमा बोल्दै रोहितले पछिल्ला अन्तर्राष्ट्रिय खेलहरूले नेपाली टोलीलाई दबाबमा सही निर्णय लिन सिकाएको बताए।

उनका अनुसार इंग्ल्यान्डसँग भएको पछिल्लो खेल नेपाली टोलीका लागि महत्वपूर्ण सिकाइ बन्यो। “कठिन परिस्थितिमा कसरी निर्णय लिने र मानसिक दबाब कसरी सम्हाल्ने भन्ने विषयमा हामीले धेरै कुरा सिकेका छौं,” रोहितले भने, “त्यही अनुभव आगामी खेलहरूमा उपयोग गर्नेछौं।”

वाङ्खेडेमा सबै खेल हुनु नेपालका लागि फाइदा

नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वाङ्खेडे स्टेडियममा खेल्नु टोलीका लागि सकारात्मक पक्ष भएको कप्तान रोहितको भनाइ छ।
उनका अनुसार वाङ्खेडेको पिच नेपाली खेलाडीको खेलशैलीसँग मेल खान्छ, जसले प्रदर्शनमा सहजता ल्याउनेछ।

इटलीलाई हल्का नलिने चेतावनी

रोहितले इटलीलाई कमजोर टोली ठान्न नहुने स्पष्ट पारे। “विश्वकपमा पुगेका सबै टोली प्रतिस्पर्धी हुन्छन्,” उनले भने, “इटलीले पनि पछिल्लो समय राम्रो खेलिरहेको छ, त्यसैले हामी पूर्ण तयारीका साथ मैदान उत्रनेछौं।”

नियमित अन्तर्राष्ट्रिय खेलको आवश्यकता

नेपाली क्रिकेटको विकासका लागि नियमित अन्तर्राष्ट्रिय शृंखला अत्यावश्यक रहेको रोहितको जोड छ।
उनले वर्षमा २–३ वटा भए पनि निरन्तर अन्तर्राष्ट्रिय शृंखला खेल्न पाउने हो भने खेलाडीको क्षमता अझ निखारिने बताए।

ठूला टोलीलाई नेपालमा स्वागत

रोहितले अस्ट्रेलिया, भारत, इंग्ल्यान्डजस्ता शीर्ष टोली नेपाल आएर खेल्न इच्छुक भए नेपाली क्रिकेटका लागि ठूलो अवसर हुने उल्लेख गरे।
उनका अनुसार यस्तो खेलले घरेलु क्रिकेटको स्तर बढाउनुका साथै दर्शकको उत्साह पनि थप्नेछ।

एनपीएल र आईपीएलको सम्भावना

नेपाल प्रिमियर लिग ९एनपीएल० ले घरेलु खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग खेल्ने अवसर दिएको भन्दै रोहितले त्यसलाई सकारात्मक पहल बताए।
उनले विश्वकपको राम्रो प्रदर्शनपछि केही नेपाली खेलाडीले भविष्यमा आईपीएल जस्ता ठूला लिगमा अवसर पाउन सक्ने विश्वास पनि व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार