Logout

चर्चामा

अख्तियार प्रमुख भन्छन्: “हाम्रो कामले समाजमा आशा जगाएको छ”

199 Shares

 

२६ माघ, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। आयोगको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले सरकारको प्राथमिकतामा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनु आवश्यक रहेको बताए।

 

राईका अनुसार सुशासन कायम गर्न संघीय, प्रदेश र स्थानीय तहका सरकारले ऐन, नियम र कानुनको चुस्त कार्यान्वयन गर्नु अनिवार्य छ। उनले जोड दिए, “अख्तियार केवल अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था हो। सुशासन कायम गर्न सरकार, नागरिक समाज र सञ्चार जगत सबैको भूमिका अपरिहार्य छ।”

 

उनले भने, “अहिले हामीले गरेका कामहरूले समाजमा आशा जगाएको छ। २०७७ साल माघ २१ मा आयोगको अवस्था अहिलेको तुलनामा धेरै फरक छ। विगतमा आयोगप्रति आलोचना बढी हुन्थ्यो, अहिले त्यो १०० प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ। हामीले पाँच वर्षे कार्यकालमा आयोगको स्तर उल्लेखनीय रूपमा बढाएका छौं।”

 

अख्तियारले ऐन, नियम र कानुनको पालन गर्दै भ्रष्टाचार नियन्त्रणमा निरन्तर सक्रिय रहेको र जनशक्ति, कार्यशैली र प्रविधिको प्रयोग बढाएको राईले बताए। उनले थपे, “भ्रष्टाचारको अवस्था जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। त्यसैले हामी अझ सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था छ। हाम्रो मुख्य काम सुशासन कायम गर्नु हो।”

 

राईले पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै भने, “हामी ऐन, नियम र कानुन अनुसार भ्रष्टाचार नियन्त्रण गर्दै आइरहेका छौं। जनशक्ति, कार्यशैली र प्रविधि सुधार गर्दै गएपछि समाजमा सकारात्मक प्रभाव देखिन थालेको छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार