काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६, दसकिलोमा आज बिहान भएको भीषण सवारी दुर्घटनाले एक जनाको ज्यान लिएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान करिब ७स्३० बजे विपरीत दिशाबाट आउँदै गरेका दुई बस र एक रिजर्भ बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दाङबाट काठमाडौं आइरहेको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बस ठोक्किएपछि अवस्था नियन्त्रण बाहिर गएको प्रत्यक्षदर्शीले बताएका छन्।
दुर्घटनापछि एउटा बस सडक छेउमा रहेको टिनले छाएको कच्ची चिया पसलमा ठोक्किँदा पसल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। सोही पसलमा चिया पिइरहेका धादिङ धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार तामाङ पसल नजिकै टिपर रोकेर चिया पिइरहेका बेला दुर्घटनामा परेका थिए। गम्भीर घाइते अवस्थामा उद्धार गरी काठमाडौंको ट्रमा सेन्टर पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा पसल सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका–१ का ५४ वर्षीय खगेश्वर शर्मा र बसमा सवार ८ वर्षीया सफलता पुलामी मगर घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
प्रहरीले दुर्घटनामा संलग्न बसका चालकलाई नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक रूपमा तीव्र गति र लापरवाही दुर्घटनाको कारण हुनसक्ने आशंका गरिएको छ।
बिहानै भएको यस दुर्घटनाले केही समय सडक अवरुद्ध भएको थियो भने अहिले यातायात पुनः सुचारु भइसकेको प्रहरीले जनाएको छ।