Logout

चर्चामा

प्रवीण खतिवडाको ‘शिवांश’ ट्रेलर सार्वजनिक साधुको आवरणमा लुकेको अन्धकार

323 Shares

 

काठमाडौं । आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘शिवांश स् च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले धार्मिक आस्था, रहस्य र हिंसात्मक मनोविज्ञान मिसिएको फरक कथावस्तुको संकेत दिएको छ ।

ट्रेलरमा जोगीको भेष धारण गरेको एक पात्रको जीवन देखाइन्छ, जो बाहिरबाट संयमी र त्यागी देखिए पनि भित्र गहिरो उन्माद र क्रूर प्रवृत्ति बोकेको छ । साधुको आवरणभित्र लुकेको अपराध, शक्ति प्राप्तिको लालसा र विनाशकारी सोच ट्रेलरको मुख्य आकर्षण बनेको छ ।

पौराणिक हिन्दू मान्यतासँग जोडिएको समुद्र मन्थन र त्यसबाट उत्पन्न विषको सन्दर्भलाई आधुनिक कथासँग जोड्दै प्रस्तुत गरिएको ट्रेलरले आध्यात्मिक रहस्यलाई रोमाञ्चक ढंगले उठान गरेको छ । यसले कलियुगमा विनाश निम्त्याउन सक्ने एक दिव्य शिलाको वरिपरि कथा घुम्ने संकेत पनि दिन्छ ।

मुख्य भूमिकामा देखिएका अभिनेता प्रवीण खतिवडा साधुको अवतारमा प्रस्तुत छन् । शरीरभरि खरानी, हातमा त्रिशुल र आँखामा झल्किएको उग्रता उनका पात्रलाई रहस्यमयी ‘एन्टी–हिरो’ को रूपमा स्थापित गर्छ । ट्रेलरमा उनको अभिनय गहिरो र प्रभावशाली देखिन्छ ।

फिल्ममा तेज गिरी, विकास जोशी, रुशा न्यौपानेसहित अन्य कलाकारको अभिनय रहेको छ । निर्देशन सन्तोषकुमार आत्रेयले गरेका हुन्, जसले यसलाई भिन्न शैली र भव्य प्रस्तुतिमा उतार्ने प्रयास गरेको देखिन्छ ।

फिल्मको संगीत पक्ष पनि उल्लेखनीय छ । भारतीय चर्चित गायक कैलाश खेरको स्वरले फिल्मलाई अन्तर्राष्ट्रिय स्वाद दिएको छ । गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको आवाज समावेश छ भने संगीत न्ह्यू बज्राचार्य र शिवाकोटीले तयार पारेका हुन् ।

नेपालमा कमै बन्ने ‘स्पिरिचुअल एक्सन ड्रामा’ विधामा आधारित यो फिल्म महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउँदैछ । पौराणिक कथा, रहस्य र आधुनिक प्रस्तुतीकरणको संयोजनले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार