काठमाडौं, २१ माघ — आगामी निर्वाचनमा उम्मेदवार र राजनीतिक दलहरूले पाउने चन्दा तथा आर्थिक सहयोग अब सिधै बैंक खातामै राखेर मात्रै खर्च गर्नुपर्ने व्यवस्था निर्वाचन आयोगले ल्याएको छ।
निर्वाचन आयोगले मंगलबार “निर्वाचन अभियान बैंक खाता कार्यविधि २०८२” पारित गर्दै यस्तो नयाँ नियम लागू गरेको हो। नयाँ नियम अनुसार, २५ हजारभन्दा बढी रकमको चन्दा प्राप्त भए सिधै बैंक खातामा जम्मा गर्नैपर्ने छ भने कम रकमको लागि पनि नगद रसिद बनाएर बैंकमा जम्मा गर्नु अनिवार्य हुनेछ।
सरकारी बजेट, सार्वजनिक संस्था, विदेशी सरकार वा संस्थारव्यक्तिबाट सहयोग लिन निषेध गरिएको छ। साथै, एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने व्यक्तिको विवरण अभिलेख राख्नुपर्नेछ, जसको गोपनीयता आयोगले सुनिश्चित गर्नेछ।
पुराना खाताहरूलाई नयाँ नियमअनुसार सारेर नयाँ खाता खोल्नुपर्ने व्यवस्था छ। निर्वाचन सकिएपछि ३५ दिनभित्र खाता बन्द गर्नुपर्नेछ भने बैंकहरूले विवरण छ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ।
निर्वाचन आयोगले देशभरका लेखा अनुगमन अधिकारीहरूलाई उम्मेदवारहरूको प्रचारप्रसार खर्च र सरकारी स्रोतको प्रयोगको अनुगमन गर्ने जिम्मेवारी दिएको छ। यसले चुनावी खर्चमा पारदर्शिता बढाउने उद्देश्य राखेको छ।