Logout

चर्चामा

लिबियामा गद्दाफी युगको अन्त्य  सेफ अल–इस्लामको रहस्यमय हत्या

175 Shares

२१ माघ, काठमाडौं।
लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीका छोरा तथा एक समय देशको नेतृत्व सम्हाल्ने प्रमुख दावेदार मानिएका सेफ अल–इस्लाम गद्दाफीको हत्या भएको खबरले लिबियाली राजनीतिमा फेरि उथलपुथल ल्याएको छ।

५३ वर्षीय सेफ अल–इस्लाममाथि मंगलबार राति राजधानी त्रिपोलीबाट करिब १३६ किलोमिटर दक्षिण–पश्चिममा रहेको जिन्तान शहरस्थित उनको निजी निवासमै गोली प्रहार गरिएको हो। स्थानीय स्रोतका अनुसार हतियारधारी समूहले घरको सुरक्षा प्रणाली निष्क्रिय बनाएपछि आक्रमण गरेको थियो।

उनको कानुनी टोलीका अनुसार नकाव लगाएका चार जना बन्दुकधारीहरूले घरको सीसीटीभी काटेर भित्र प्रवेश गरेका थिए। गम्भीर घाइते अवस्थामा रहेका सेफ अल–इस्लामको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

सन् २०११ मा पिता मुअम्मर गद्दाफीको शासन पतन भएपछि सेफ अल–इस्लाम पक्राउ परेका थिए। पछि सन् २०१७ मा जेलबाट रिहा भएयता उनी जिन्तानमै बस्दै आएका थिए। अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनीविरुद्ध मानवताविरुद्धको अपराधको मुद्दा चलाइरहेको थियो भने लिबियाको एक अदालतले उनलाई मृत्युदण्डको सजायसमेत सुनाइसकेको थियो।

लन्डन स्कूल अफ इकोनोमिक्सबाट पीएचडी गरेका सेफ अल–इस्लामलाई कहिल्यै सुधारवादी त कहिल्यै कठोर शासकको उत्तराधिकारीका रूपमा हेरिएको थियो। सन् २०२१ मा उनले राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेपछि लिबियामा तीव्र विवाद र विरोध चर्किएको थियो।

उनको हत्यासँगै गद्दाफी परिवारको राजनीतिक पुनरागमनको सम्भावनामा ठूलो विराम लागेको विश्लेषकहरू बताउँछन्। दशकौँदेखि अस्थिरता र गृहसंघर्ष झेल्दै आएको लिबियामा यो घटनाले थप राजनीतिक तनाव बढाउने आशंका गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार