Logout

चर्चामा

गगनदेखि ओलीसम्मको नाम दुरुपयोग गर्दै ‘फन्ड रेजिङ’ ! अमेरिकन नागरिक नेपालमै पक्राउ

233 Shares

 

काठमाडौं ।

नेपालका शीर्ष राजनीतिक नेताहरूको नाम र तस्बिर प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरमा पैसा संकलन गरिरहेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन्।

 

अध्यागमन विभागका अनुसार ती व्यक्तिले आफू संलग्न रहेको भनिएको एक शैक्षिक संस्थाको वेबसाइटमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका नेता गगन थापासम्मका नाम र फोटो प्रयोग गर्दै ‘फन्ड रेजिङ’ गतिविधि चलाएका थिए।

 

नेताहरूको नामसहित ‘Our Dynamic Team’

 

‘निकलेज इडीयू एनपी’ नामक वेबसाइटमा नेपालका १३ जना चर्चित राजनीतिक तथा सामाजिक व्यक्तित्वलाई “Our Dynamic Team” भनेर प्रस्तुत गरिएको पाइएको अध्यागमनले जनाएको छ।

उक्त सूचीमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायतका नाम र तस्बिर राखिएको थियो।

 

त्यसैगरी, “Library, Campus Service तथा Administrative Team” भन्दै अन्य प्रतिष्ठित नेपालीहरूको नामसमेत प्रयोग गरिएको भेटिएको छ।

 

विश्वविद्यालयको सम्बन्धन दाबी, प्रमाण शून्य

 

वेबसाइटमा सो कलेज त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको दाबी गरिए पनि त्यसको आधिकारिक कागजात भने देखाउन नसकेको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले बताए।

 

उक्त कलेजले कोरियन भाषा, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिजलगायतका कोर्स पढाइने प्रचार गरेको थियो।

 

१२ वर्षमा ५० पटक नेपाल आवतजावत

 

पक्राउ परेका अमेरिकी नागरिक सन् २०१४ देखि नेपाल आउन थालेको पाइएको छ। पछिल्ला १२ वर्षमा उनी ५० पटकभन्दा बढी नेपाल आएको अध्यागमनको अभिलेखमा देखिन्छ।

 

उनी कहिले पर्यटक, कहिले वर्किङ र कहिले व्यवसायिक भिसामा नेपाल आएको पाइएको छ। व्यवसायिक भिसा लिन उनले ‘कमसिड नेपाल प्रालि’ नामक कम्पनीसमेत दर्ता गरेको खुलेको छ।

 

धर्म प्रचार र चर्च प्लान्टिङमा संलग्न ?

 

अध्यागमन स्रोतका अनुसार ती अमेरिकी नागरिक नेपालमा चर्च प्लान्टिङ तथा धर्म प्रचारसम्बन्धी गतिविधिमा पनि संलग्न रहेको विभिन्न प्रमाणबाट देखिएको छ।

 

हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार