Logout

चर्चामा

संसदमा पहिलो सम्बोधन “आशा नगरेको जिम्मेवारी, बाध्यताले प्रधानमन्त्री बनेँ”

243 Shares

 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गर्दै आफू सत्ताको आकांक्षाले होइन, परिस्थितिको दबाबले नेतृत्वमा आएको स्पष्ट पारेकी छन्।

जेनजी युवाहरूको आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभालाई सम्बोधन गर्दै भनिन्, “म प्रधानमन्त्री बन्ने कुनै योजना वा चाहना बोकेर यहाँ आएकी होइन। मुलुकलाई संवैधानिक संकटबाट जोगाउन मैले यो जिम्मेवारी स्वीकारेकी हुँ।”

जेनजी आन्दोलनप्रति सम्मान

प्रधानमन्त्रीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई युवाहरूको असन्तोष र चेतनाको अभिव्यक्ति भन्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिन्। आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिएको र घाइतेको उपचार तथा पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको उनले बताइन्।

उनको भनाइमा जेनजी आन्दोलन भ्रष्टाचार, दण्डहीनता र शासकीय संवेदनहीनताविरुद्धको ऐना हो, जसले राज्यका कमजोरीहरू स्पष्ट देखाएको छ।

चुनाव नै प्राथमिकता

प्रधानमन्त्री कार्कीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन समयमै, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। निर्वाचनका लागि सुरक्षा संयन्त्र परिचालन भइसकेको र लुटिएका अधिकांश हतियार बरामद गरिएको जानकारी पनि दिइन्।

उनले भनिन्, “यो चुनाव सामान्य प्रक्रिया मात्र होइन, नेपालको नयाँ राजनीतिक संस्कृतिको सुरुवात हुनुपर्छ।”

सुशासन र सदाचारको जोड

भ्रष्टाचार नियन्त्रणलाई सरकारको मुख्य एजेन्डा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘सुशासनको मार्गचित्र’ अन्तिम चरणमा पुगेको जानकारी दिइन्। उनले सदाचार कागजमा होइन, व्यवहारमा देखिनुपर्ने मूल्य भएको भन्दै सार्वजनिक पदाधिकारीलाई जिम्मेवार बन्न आग्रह गरिन्।

“युवा सडकमा नआउनुपर्ने राज्य बनाऔँ”

प्रधानमन्त्रीको सम्बोधनको मुख्य सन्देश स्पष्ट थियो— अब सुशासन माग्न नागरिक सडकमा आउन नपरोस्।
उनले विधिको शासनप्रति निष्ठा र सत्ता मोहभन्दा माथि उठेर काम गर्न सबैलाई आह्वान गरिन्।

छोटो कार्यकाल, ठूलो दाबी

छोटो कार्यकालको अन्त्यतिर पुगेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भत्किएका संस्थाहरू जोडिएको र आशाको बीउ रोपिएको दाबी गरिन्। भ्रष्टाचार र अन्यायविरुद्ध सबै निकाय एकजुट हुनुपर्ने सन्देश दिँदै उनले सम्बोधन टुंग्याइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार