काठमाडौं, १९ माघ – राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यवसायिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी गर्न आमन्त्रण गरेका छन्। राष्ट्रपति पौडेलले नेपाल सरकार विदेशी लगानीलाई सहज बनाउन र संरक्षण प्रदान गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
जापानको टोकियोमा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र आर्थिक रूपमा बलियो रहेको उल्लेख गर्दै निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न नेपाल इच्छुक रहेको बताए।
राष्ट्रपति पौडेलले भने, “नेपालमा लगानी गर्दा नाफा, पूँजी फिर्ती र दीर्घकालीन प्रतिफल सुनिश्चित छ। सरकार विदेशी लगानीलाई सहज बनाउने, आवश्यक सहयोग प्रदान गर्ने र सुरक्षित वातावरण उपलब्ध गराउने प्रतिवद्ध छ।”
उनले विशेषगरी कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा जापानी लगानीकर्ताहरूलाई अवसरहरू रहेको उल्लेख गर्दै दुवै देशलाई लाभ पुग्ने साझा परियोजनाहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरे।
यसै अवसरमा जापानमा कार्यरत नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत मन्तव्य दिएका थिए भने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीका सम्भावनाबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा सहभागी जापानी व्यवसायीहरूले नेपालमा यति धेरै लगानी अवसर भएको थाहा पाउँदा खुसी व्यक्त गरेका छन् र यसले दुई देशबीच व्यापार र लगानी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको राजनीतिक स्थिरता, सामाजिक न्याय, सुशासन र आर्थिक विकास प्रयासहरूलाई जोड दिनुका साथै २०३० सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउन योजना रहेको बताए।
उनी विदेशी लगानी र निजी–सरकारी साझेदारीमार्फत उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना–प्रविधि, खानी र कृषि उद्योगमा नवप्रवर्तन र आर्थिक विकासलाई थप गति दिने लक्ष्यमा रहेको बताए।
“नेपालले दक्षिण एसियामा सबैभन्दा अनुकूल व्यापार वातावरण निर्माण गरेको छ र दुई उदीयमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको भौगोलिक अवस्थाले लगानीकर्तालाई थप लाभ दिनेछ,” उनले जोड दिए।