काठमाडौं, १८ माघ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा केही निर्वाचन क्षेत्र यस्ता थिए, जहाँ जित–हारको फैसला सय–दुई सय मतले मात्रै भयो। मतपेटिकामा परेको थोरै मतले कसैलाई संसद् छिरायो भने कसैलाई राजनीतिबाटै एक कदम पछाडि धकेल्यो।
तीन वर्षअघि झिनो मतान्तरले आमनेसामने भएका धेरै प्रतिस्पर्धीहरू अहिले एउटै मैदानमा छैनन्। कतिपयले उम्मेदवारी नै छाडे, कतिपय अर्को क्षेत्र सरे, केही भने फेरि पनि उही मतदातासामु उभिएका छन्।
काठमाडौं क्षेत्र नम्बर १ त्यसको ज्वलन्त उदाहरण हो। २०७९ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले राप्रपाका रविन्द्र मिश्रलाई जम्मा १२५ मतले पराजित गरेका थिए। मिश्र यसपटक पनि मैदानमै छन् तर सिंह भने टिकटबाटै बाहिरिए। त्यतिबेला निर्णायक बनेका रास्वपा उम्मेदवार पुकार बम भने क्षेत्र परिवर्तन गरेर काठमाडौं–४ पुगेका छन्।
पूर्वी नेपालका पहाडी जिल्लामा पनि झिनो मतान्तरको राजनीति दोहोरिएको थियो। पाँचथर–१ मा एमालेका बसन्तकुमार नेम्वाङ र कांग्रेसका भीष्मराज आङदेम्बेबीचको प्रतिस्पर्धा ४६ मतमै सीमित रह्यो। अहिले दुवै प्रत्यक्ष चुनावी दौडमा छैनन्।
ताप्लेजुङ–१ मा एमालेका योगेश भट्टराईले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले हराएका थिए। यसपटक योगेश उम्मेदवार छैनन् भने बुढाक्षेत्री फरक दलबाट पुनः मैदानमा छन्।
इलाम–२ मा ११४ मतको अन्तरले विजयी भएका सुवास नेम्वाङको निधनपछि राजनीतिक उत्तराधिकारीको रूपमा उनका छोरा सुहाङ नेम्वाङ प्रतिस्पर्धामा छन्। तर अघिल्लो प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार फेरिएका छन्।
तराई–मधेशका धेरै क्षेत्रमा पनि झिनो मतान्तरले सत्ता र प्रतिपक्षको रेखा कोर्यो। दाङ–२ मा माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई १९३ मतले पराजित गरिन्। त्यो जितले उनलाई मन्त्रीसम्म पुर्यायो, तर पोखरेल पुनः उम्मेदवार बन्न सकेनन्।
मोरङ, सुनसरी, धनुषा, सिराहा, दैलेख, बर्दिया, पर्सा र दोलखा जस्ता जिल्लामा पनि सयदेखि हजार मतसम्मको अन्तरले नतिजा पल्टियो। कतिपय विजेता विवादमा परे, कतिपय पराजित राजनीतिबाटै ओझेल परे।
यद्यपि सबै ठाउँमा परिवर्तन आएको छैन। दैलेख–२, धनुषा–४ र सुनसरी–४ जस्ता क्षेत्रमा अघिल्लोपटक झिनो मतान्तरले छुट्टिएका उम्मेदवारहरू फेरि आमनेसामने छन्। यसले मतदातालाई फेरि उही प्रश्नतर्फ फर्काएको छ–
सय–दुई सय मतले हारजित हुने राजनीतिमा निर्णय बदल्ने शक्ति कसको हातमा छ ?
२०७९ को निर्वाचनले एउटा सन्देश स्पष्ट दिएको थियो—
यहाँ हारजित केवल दलको होइन, मतदाताको सानो निर्णयको नतिजा पनि हो।
र यही सानो अन्तरले कसैको राजनीतिक यात्रा अघि बढायो, कसैको त्यहीँ रोकिदियो।