काठमाडौं
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालमा गहिरो आन्तरिक असन्तुष्टि सतहमा आएको छ। पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै केन्द्रीय सदस्य तथा सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जना नेताहरूले पार्टी परित्याग गरेका छन्।
विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वमा सञ्चालन हुँदै आएको उक्त पार्टीले स्थापना भएको करिब एक दशक बितिसक्दा पनि देशका कुनै भूभागमा ठोस संगठनात्मक आधार बनाउन नसकेको आरोप पार्टी छाड्ने नेताहरूले लगाएका छन्। उनीहरूका अनुसार पार्टीले अघि सारेका आन्दोलन, संघर्ष र क्रान्तिका कार्यक्रम व्यवहारमा देखिनुभन्दा बढी सामाजिक सञ्जाल र वैचारिक बहसमा मात्र सीमित भएका छन्।
पार्टी परित्याग गर्नेहरूमध्ये केन्द्रीय सदस्यहरूमा धनकुमारी सुनारसँगै गणेश रसाइली र यशोद्धा बराल रहेका छन्। यसैगरी विक्रम सुनार, तुलसी परियार, प्रया बराल, दिपा राना, हेमा सुनार, संगीता सिंजापति, सुमित्रा खाती, शर्मिला जी।आर।, कमला जिरी र रीता नेपालले पनि पार्टीसँगको सम्बन्ध तोडेका छन्।
पार्टी छाड्ने नेताहरूले जारी गरेको सामूहिक धारणा अनुसार वैज्ञानिक समाजवादको नाममा उठाइएका एजेन्डाहरू जनस्तरसम्म पुग्न नसकेको, वर्गसंघर्ष व्यवहारमा लागू हुन नसकेको र नेतृत्वले संगठन विस्तारभन्दा वैचारिक भाषण र अनलाइन सक्रियतालाई प्राथमिकता दिएको उनीहरूको ठहर छ।
उनीहरू भन्छन्, “पार्टी स्थापनाको दशक नजिकिँदा पनि कुनै भूगोलमा स्थायी जनाधार निर्माण हुन नसक्नु, आन्दोलनलाई व्यवहारमा उतार्न नसक्नु र क्रान्तिलाई फेसबुक तथा बहस कक्षमै सीमित गर्नुले पार्टीको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेको छ।”
यस घटनाले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीभित्र लामो समयदेखि मौन रूपमा रहेको असन्तुष्टि अब खुला रूपमा विस्फोट भएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। पार्टी नेतृत्वबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने अझै सार्वजनिक भएको छैन।