काठमाडौं, १५ माघ २०८२ – लुम्बिनी प्रदेश सभाकी सांसद अम्बिका काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार खगेन्द्र सुनारलाई कानुन अनुसार तीन वर्ष कैद हुनुपर्ने माग गरेकी छन्।
बुधबार प्रदेश सभामा बोल्दै सांसद काफ्लेले भनिन् कि सुनारले ‘गाईको मासु खान पाउनुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए, जसले सामाजिक र धार्मिक सद्भावमा असर पुर्याउन सक्छ। उनले संविधानको धारा ४ मा धर्मनिरपेक्षता स्पष्ट भए पनि यस्तो अभिव्यक्ति आपत्तिजनक भएको बताइन्।
सांसद काफ्लेले भनिन्, “सामाजिक र धार्मिक सद्भावमा खलल पुर्याउने अभिव्यक्ति कुनैपनि व्यक्ति, चाहे जुनसुकै दलको होस्, दिन पाइँदैन। कानुन सबैका लागि समान छ।” उनले मुलुकी अपराध संहितामा गाईगोरु मार्न र त्यसको मासु खान निषेध गरिएको उल्लेख गर्दै, त्यसको उल्लङ्घनमा तीन वर्षसम्म कैदको व्यवस्था रहेको जानकारी गराइन्।
सांसद काफ्लेले थपिन्, “सनातन धर्मावलम्बीहरूले पुज्ने गाईगोरुमाथि यस्तो अभिव्यक्ति सार्वजनिक हुनु दुर्भाग्यपूर्ण छ।”