Logout

चर्चामा

मकवानपुरमा हरित निर्वाचन अभियान डिजिटल प्रचारदेखि फोहोर व्यवस्थापनसम्म विशेष जोड

289 Shares

 

मकवानपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई वातावरणमैत्री बनाउने उद्देश्यसहित मकवानपुरमा हरित निर्वाचन (Green Election) अवधारणालाई विशेष प्राथमिकताका साथ लागू गरिने भएको छ। निर्वाचन प्रक्रियाबाट वातावरणमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्दै दिगो र जिम्मेवार अभ्यासलाई संस्थागत गर्ने लक्ष्यका साथ यो अभियान अघि बढाइएको हो।

 

बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार यसपटकको निर्वाचनमा अनावश्यक कागजी सामग्री, प्लास्टिकजन्य प्रचार सामग्री र प्रदूषण बढाउने अभ्यासलाई निरुत्साहित गरिनेछ। यसको सट्टा डिजिटल माध्यममार्फत सूचना प्रवाह, पुनः प्रयोगयोग्य सामग्रीको प्रयोग र व्यवस्थित फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिने जनाइएको छ।

 

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरि प्रसाद ढकालले निर्वाचन केवल राजनीतिक प्रक्रिया मात्र नभई सामाजिक र वातावरणीय दायित्वसँग पनि जोडिएको विषय भएको बताउनुभयो। उहाँका अनुसार पोस्टर, पम्प्लेट, फ्लेक्स र ब्यानरको प्रयोग न्यून गर्दै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र विद्युतीय सूचनामार्फत प्रचार–प्रसारलाई बढावा दिइनेछ। साथै मतदान केन्द्रमा ध्वनि प्रदूषण नियन्त्रण, फोहोर छुट्याएर व्यवस्थापन र कार्बन उत्सर्जन घटाउने उपायहरू पनि अपनाइनेछ।

 

प्रमुख ढकालले हरित निर्वाचन सफल बनाउन राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकारवाला सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

 

तीन हजारभन्दा बढी कर्मचारी परिचालन

 

मकवानपुरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ। निर्वाचन कार्यालयका अनुसार कुल ३ हजार ३६६ जना कर्मचारी निर्वाचन व्यवस्थापनमा खटाइनेछन्।

 

कार्यालयबाट परिचालित कर्मचारी संख्या २ हजार २४४ रहेको छ भने मतदान केन्द्रमै नियुक्त हुने कर्मचारी १ हजार १२२ रहेका छन्। यसका अतिरिक्त निर्वाचन सुरक्षाका लागि करिब १ हजार नेपाल प्रहरी र १ हजार ९२३ निर्वाचन प्रहरी परिचालन हुनेछन्।

 

तीन लाखभन्दा बढी मतदाता

 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्।

 

क्षेत्र नं. १ मा १ लाख ५८ हजार ४३५ मतदाता

 

क्षेत्र नं. २ मा १ लाख ५६ हजार ८९९ मतदाता कायम छन्

 

क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नं. २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र रहेका छन्। आवश्यक परेमा कैदीबन्दी र कर्मचारीका लागि थप मतदान केन्द्र स्थापना गरिने निर्वाचन कार्यालयले जनाएको छ।

 

१९ मतदान स्थल अति संवेदनशील सूचीमा

 

जिल्ला सुरक्षा समितिले मकवानपुरका १६७ मतदान स्थलमध्ये १९ वटालाई अति संवेदनशील सूचीमा राखेको छ। त्यस्तै ६० मतदान स्थल संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

 

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अति संवेदनशील सूचीमा परेका मतदान स्थलहरूमा कडा सुरक्षा व्यवस्था अपनाइनेछ। सबैभन्दा बढी बकैया गाउँपालिकामा अति संवेदनशील मतदान स्थल रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार