काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ इतिहास बनाएको छ। एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि भएपछि सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।
आजको वृद्धिसँगै १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्नु र लगानीकर्ताको आकर्षण बढ्नु यसको मुख्य कारण मानिएको छ।
यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको छ।
व्यवसायीहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता, डलरको उतार–चढाव र सुरक्षित लगानीको खोजीका कारण सुनचाँदीको मूल्य अझै अस्थिर रहन सक्ने संकेत देखिएको छ।
आज कायम भएको सुनको मूल्य नेपालको इतिहासमै अहिलेसम्मकै उच्च रहेको महासंघले जनाएको छ।