१४ माघ, रुकुमपूर्व
मंगलबार रातिदेखि परेको निरन्तर भारी हिमपातले मध्यपहाडी लोकमार्गको रुकुमपूर्व–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । दुई जिल्लाको सिमानामा पर्ने पातिहाल्ने क्षेत्रमा बाक्लो हिउँ जमेपछि पाँचवटा यात्रुवाहक बससहित करिब २०० भन्दा बढी यात्रु बीच जंगलमै रोकिएका छन् ।
काठमाडौंबाट रुकुमपूर्व हुँदै रुकुमपश्चिम तथा डोल्पातर्फ गइरहेका यात्रुहरू बाटोमै रोकिएपछि चिसो, भोक र असहज अवस्थासँग जुध्न बाध्य भएका छन् । उद्धारमा संलग्न स्थानीय समाजसेवी चन्द्र रसाइलीका अनुसार यात्रुहरूको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ ।
‘यात्रुहरू खुला ठाउँमै अलपत्र छन् । खानपिनको गम्भीर समस्या छ, विशेषगरी बालबालिका र वृद्धहरूको अवस्था निकै नाजुक छ,’ रसाइलीले भने, ‘हामीले सम्भव भएसम्म खाद्यान्न पुर्याएका छौँ तर लगातारको हिमपातले उद्धार कार्य सहज हुन सकेको छैन।’
लोकमार्ग अवरुद्ध भएपछि सवारी साधन लामबद्ध रूपमा रोकिएका छन् भने हिउँ पर्ने क्रम नरोकिएकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सडक खुलाउन तथा यात्रुलाई सुरक्षित स्थानमा सार्न प्रयास तीव्र पारेको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार भुमे गाउँपालिकाको सहयोगमा डोजर ९जेसीबी० प्रयोग गरी हिउँ हटाउने कार्य सुरु गरिएको छ ।
‘हामीले यात्रुलाई उद्धार गर्ने तयारी गरेका छौँ तर हिउँ अत्यधिक परेकाले अपेक्षाअनुसार प्रगति हुन सकेको छैन,’ प्रजिअ परियारले भनिन्, ‘अवस्था चुनौतीपूर्ण भए पनि बाटो खुलाउने र यात्रुलाई सुरक्षित निकाल्ने प्रयास निरन्तर जारी छ।’
स्थानीय प्रशासनका अनुसार मौसम अनुकूल नभएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा आउन समय लाग्न सक्ने देखिएको छ । यसै कारण यात्रुहरूलाई अत्यावश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्थाको तयारी गर्न आग्रह गरिएको छ ।