Logout

चर्चामा

प्रतिनिधिसभा निर्वाचन आउन ३८ दिन बाँकी, आकस्मिक समस्या समाधानका लागि आयोग सक्रिय

243 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले सम्भावित चुनौती र समस्या तुरुन्तै समाधान गर्ने उद्देश्यले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोग परिसरमै स्थापना गरिएको यो केन्द्रबाट देशभर देखिने निर्वाचनसम्बन्धी समस्या तत्काल संकलन, विश्लेषण र समाधान गरिने आयोगले जनाएको छ।
आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको केन्द्रको शुभारम्भ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन्। उनले मतदान प्रक्रिया, सुरक्षा व्यवस्थापन वा प्रशासनिक अवरोधजस्ता विषयमा कुनै पनि क्षेत्रमा समस्या देखिएमा केन्द्रबाटै छिटो निर्णय लिइने बताए।
उनका अनुसार मतदान केन्द्रमै समाधान हुन नसक्ने जटिल विषयलाई यही केन्द्रमार्फत सम्बोधन गरिनेछ। “निर्वाचन निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन केन्द्र २४ सै घण्टा सक्रिय रहनेछ,” भण्डारीले स्पष्ट पारे।
संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा निर्वाचन आयोगका सचिवको नेतृत्व रहने व्यवस्था गरिएको छ। साथै गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्यको रूपमा समेटिएका छन्।
केन्द्रले निर्वाचनसँग सम्बन्धित सूचना संकलन गर्ने, त्यसको अवस्था विश्लेषण गर्ने र आवश्यक परे तत्काल निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ। आयोगका अनुसार निर्वाचनको समयमा देखिन सक्ने सुरक्षा, व्यवस्थापन तथा कानुनी जटिलता समाधानमा केन्द्रले समन्वयकारी भूमिका खेल्नेछ।
निर्वाचन मिति नजिकिँदै जाँदा आयोगको यो कदमलाई निर्वाचन व्यवस्थापन थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार